एमसीसी ससंदमा पेश गर्न सत्ता गठबन्धनबीच सहमति

काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा टेबल गर्ने गरी सत्तारुढ गठबन्धनबी सहमति जुटेको छ ।

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पेश गर्ने अडान लिएपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी पेश गर्न दिन सहमत भएका हुन् ।

यद्यपि पेश भएपछि संसदमा पर्याप्त छलफलको वातावरण बन्नुपर्नेमा उनीहरूको जोड छ । एमसीसी संसदमा पेश गर्न दिए पनि पास गर्ने पक्षमा भने दुवै दल देखिएका छैनन् ।

एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन् ।

आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको एमसीसी सम्झौतलाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने भएको छ ।