काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट विदेश भ्रमणको सुरुवात गर्ने तयारी गरेका छन् ।
ओलीको भ्रमणको तयारीका लागि नै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमण भएको स्रोतको दाबी छ ।
नेपालसँग केही महत्वपूर्ण सम्झौता प्रधानमन्त्रीसँगै गर्न चीनले चाहेपछि भ्रमण तयारी तीब्र पारिएको हो । नाकाबन्दीसँगै भारतसँग सम्बन्ध चिसिएपछि ओलीले चीनबाट अपेक्षा गरेका छन् ।
अहिले नै तयार भएका कतिपय विषय छलफलका रूपमा राख्दै आगामी वर्ष सन् २०१६ को सुरुवातमा नै हुने सरकार प्रमुखस्तरको भ्रमणका क्रममा सम्झौता गर्ने भनिएपछि यो खुलासा भएको हो ।
तर २०१६ को कुन महिनामा प्रधानमन्त्रीस्तरको भ्रमण हुने स्पष्ट पारिएको छैन । चीनले नेपालसँगको सम्झौता नेपालको राजनीतिक सहमतिमा गर्न खोजेका कारण नहतारिएको पनि अधिकारीहरूले बताए ।
अहिलेको अवस्थामा नेपालमा राजनीतिक सहमति नभएकोप्रति लक्षित गर्दै चिनियाँ नेता र अधिकारीले कार्यकारीस्तरमा कतिपय सम्झौता गर्न सकिने परराष्ट्रमन्त्री थापालाई बताएका छन् ।
थापाकै भ्रमणका क्रममा स्वतन्त्र व्यापार सम्झौता (एफटीए), द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता बिप्पा लगायतका सम्झौता गर्ने तयारी नेपालको थियो ।






