बेलायतको बार्नेट बरो सँग पोखराको यस्तो बन्यो भगिनी सम्बन्ध (फोटो फिचर)

शिब भण्डारी

लन्डन । बेलायतको बार्नेट बरो तथा पोखरा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको अवसरमा लन्डनस्थित बार्नेट बरो काउन्सिल भवनको सभाहलमा एक विशेष कार्यक्रम गरेको छ ।

बुधबार आयोजित विशेष समारोहमा बार्नेटकी मेयर डा. क्यारोलिन स्टक बेलायतका लागि नेपाली राजदुत लोक दर्सन रेग्मीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि यो सम्बन्धले औपचारिकता पाएको हो ।

कार्यक्रममा लन्डन बरो अफ बार्नेटकी मेयर डा. क्यारोलिन स्टकले बेलायत र नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र दुई नगरहरुबीच भगिनी सम्बन्ध कायम हुँदा यो सम्बन्ध जनस्तरमा अरु बलियो हुने विश्वास व्यक्त गरिन् ।

उनले बार्नेटमा नेपाली समुदायको उल्लेख्य बसोबास रहेको र उनीहरुले बेलायतको सेवामा आफ्नो क्षेत्रबाट योगदान पुराइ रहेको जनाइन् । उनले त्यस्तो सम्बन्ध कायम गरिंदा दुबै नगरका वासिन्दाहरुबीच मित्र र सहयोगको प्रवर्द्धन हुनुका साथै सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि आपसी सहयोग बढाउन मदत पुग्ने विचार व्यक्त गरिन् ।उनले पोखरा महानगरपालिकासंग भगिनी सम्बन्ध कायम गर्न पहल गरेकोमा उपमेयर लक्ष्य गुरुङको प्रशंसा गरिन् ।

उक्त कार्यक्रममा बोल्दै लन्डन बरो अफ बार्नेटका उप मेयर लक्ष्य गुरुङले नेपालको पर्यटन राजधानीको रुपमा चिनिएको पोखरा शहर अन्नपूर्ण सर्किटमा पदयात्रामा जाने पदयात्रीहरुका लागि ‘गेट वे’ भएको बताए ।

उनले भगिनी सम्बन्धले दुइ मुलुकहरु बीचको ऐतिहासिक सम्बन्ध अरु मजबूत हुने विश्वास व्यक्त गरे । सन् २००५ मा बार्नेटमा बसोबास गर्न आउँदादेखि नै दुई शहरबीच सम्बन्ध गांस्न पाए हुन्थ्यो भन्ने आफ्नो मनमा रहेको र अहिले त्यो सपना पुरा हुँदा आफूलाई अत्यन्तै खुसी लागेको उनले बताए ।

औपचारिक रुपमा मितेरी गास्ने कार्ययक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदान मार्फत् दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने बताए ।

उक्त समारोहमा एनआरएनए यूके अध्यक्ष श्रीमती पुनम गुरुङले पोखरा नगरपालिकाको भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सौन्दर्यबारे प्रकास पार्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताइन ।

पोखरेली मञ्च यूकेका मानप्रसाद गुरुङ, बार्नेटबाट मार्टिन रासेललगायतले सम्बोधन गरेका थिए । यसैगरी कार्यक्रममा एनआरएनए यूके पूर्व अधक्ष्य तथा संरक्षक सुर्य गुरुङ र बर्न्टओक नेपाली समाजका अधक्ष्य बिष्णु गुरुङ,तमुधि लण्डन इकाई पूर्वअध्यक्ष डेविड गुरुङ,उपाध्यक्ष भरत गुरुङ दिलमाया गुरुङ लगायतको उपस्थिति थियो।