साहित्य चौतारी यूकेद्वारा बाल प्रतिभा विशेष श्रृंखला सम्पन्न

लन्डन। बेलायतमा रहेका नेपाली साहित्यकारहरुको साझा चौतारीको रुपमा विगत पॅाच वर्ष देखि नियमित मासिक भेटघाट एवम् सिर्जना वाचन श्रृखलाहरु सन्चालन गर्दै आएको साहित्य चौतारी यूके (Nepalese Writers Club UK) ले हालै ‘बाल प्रतिभा विशेष श्रृंखला’ सम्पन्न गरेको छ।

’स-साना नानी बाबूहरुको सिर्जनात्मक प्रतिभाहरुलाई प्रोत्साहनमुलक वातावरण बनाउने हेतुले सो कार्यक्रम सन्चालन गरिएको हो’, साहित्यकार एवम् साहित्त्य चौतारी यूकेका संयोजक वासु शर्मा बताउनुहुन्छ। गत जेठ १ गते २०७८ तदनुसार २०२१ मे १५ शनिबारका दिन उक्त बाल प्रतिभा विशेष श्रृंखला सफलतापूर्बक सम्पन्न भएको हो।

ZOOM प्रबिधि मार्फत सन्चालित उक्त कार्यक्रममा नेपालबाट १० जना र बेलायतबाट ६ जना बालबालिकाहरुले भाग लिई कविता, गीत, नृत्य आदि आ-आफ्ना प्रतिभाहरुको प्रस्तुति गरेका थिए। साहित्य चौतारीकी एक सक्रिय स्रष्टा अहिल्या कॅुवरको संयोजन र व्यवस्थापनमा संचालित उक्त कार्यक्रमका लागि नेपालमा साहित्यकार कमला महतले संयोजन गर्नु भएको थियो।

कार्यक्रमको संचालन बेलायतबासी बाल प्रतिभा उर्शूला कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रम यूके समय अनुसार दिउँसो १२ बजे तथा नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु भएको थियो र करीब ९० मिनेट सम्म संचालन भएको थियो। सो कार्यक्रममा नेपालबाट विनय भुषाल, यशस्वीनी थापा, सुशाका भण्डारी, पुजन तिवारी, करुणा थापा, मेघा रेग्मी, अनामिका आचार्य, आदित्य पाण्डे, एभा न्यौपाने, नेहा अधिकारी र बेलायतबाट अंशु सुवाल, आगत खरेल, नित्याश्री खरेल, यम्बर रानाभाट, उर्शूला कार्की र सक्षम पौडेल सहभागी भएका थिए। नेपाल र बेलायतका बाल प्रतिभाहरुलाई जोड्न यस्तो कार्क्रमले सेतुको काम गर्ने विश्वास साहित्यकार वासु शर्माको रहेको र फेरि पनि यस्ता कार्यक्रमको आयोजना गर्ने सोंच रहेको उहॅा बताउनुहुन्छ।

साहित्य चौतारी यूकेको साहित्यिक गतिविधिका बारेमा प्रष्ट पार्दै र यो मैत्रीपूर्ण बाल प्रतिभा विशेष श्रृंखला अत्यन्त राम्रो भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका संयोजकद्वय अहिल्या कुँवर र कमला महत तथा कार्यक्रम प्रस्तोता उर्शूला कार्की एवम् सहभागी बाबुनानीहरु सबैलाई धन्यवाद दिँदै वरिष्ठ साहित्यकार तथा साहित्य चौतारीका संस्थापक वासु शर्माले कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।