बङ्गलादेशमा पाँच इस्लामी लडाकूलाई मृत्युदण्ड दिने निर्णय

बङ्गलादेशमा आठ वर्ष अगाडि एक सरकारी वकिलको हत्या गरेको आरोप लागेका एक प्रतिबन्धित इस्लामी समूहका पाँच लडाकूलाई एक अदालतले बुधबार मृत्युदण्ड दिनुपर्ने निर्णय गरेको जानकारी प्रहरीले दिएको छ । यी पाँच पुरुषमा दुई हालसम्म पनि फरार रहेको बताइएको छ । उनीहरूले सरकारी वकिल हैदर होसेनलाई सन् २००७ मा एक मस्जिदबाट साँझको प्रार्थनापछि फर्किरहेको समयमा गोली हानी हत्या गरेका थिए ।
बङ्गलादेशमा प्रतिबन्धित जमायतुल मुजाहिदिन बङ्गलादेशका (जेएमबी) का छ नेतामाथि हत्याको आरोपमा होसेनले कारवाही अगाडि बढाएका थिए भने उनीहरूलाई उक्त हत्यामा दोषी प्रमाणित गरी मृत्युदण्ड दिइएको थियो । यस समूहका संस्थापक सर्वोच्च नेता सेख अब्दुर रहमान पनि मृत्युदण्ड पाउनेमा परेका थिए ।
सरकारी वकिल गोलाम रसुलले उक्त मृत्युदण्डका लागि बदला लिन उनीहरूले होसेनको हत्या गरेको बताउनुभयो । दक्षिणी जलाकाठी जिल्लाको अदालतका न्यायाधीशले प्रतिवादीलाई झुण्ड्याएर मृत्युदण्ड दिन आदेश दिएको प्रहरी अधिकृत ए.के.एम. हुमायुन कबिरले बताउनुभयो । मुसलमान बहुसङ्ख्यक बसोबास गर्ने बङ्गलादेशमा सरिया राज्य स्थापना गर्ने उद्देश्यले सन् १९९० मा जेएमबीको स्थापना भएको थियो ।
उक्त समूहले अनेकौँ बम आक्रमण गरेको थियो भने त्यसका कारण २८ व्यक्तिको मृत्युभएको थियो । उनीहरूले मुलुकका अदालतलाई प्राय आक्रमणको लक्ष्य बनाएका थिए । वर्तमान प्रतिपक्षी नेत्री खालेदा जियाको इस्लामी गठबन्धनको सरकारले आरम्भमा इस्लामी लडाकूको खतरा हटाएको थियो ।
सन् २००५ को अगस्तमा जेएमबीका लडाकूले सयौँ साना बम मुलुकको विभिन्न भागमा एकै पटक विस्फोट गरेपछि यी लडाकूलाई नियन्त्रण गर्न एक विशेष बल स्थापना गरिएको थियो । जेएमबीका अनेकौँ लडाकूलाई मृत्युदण्ड दिने निर्णय भए पनि हालसम्म पनि कुनै पनि व्यक्तिलाई यस्तो दण्ड दिइएको छैन ।