काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार पनि देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार आज देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने सम्भावना छ भने मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभाग मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेषगरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
शुक्रबार बिहानैदेखि मौसम बदली भएकाले वर्षा तथा हिमपातको सम्भावना जुनसुकै बेला हुने सम्भावना छ । साथै मौसम बदली भएपछि अधिकतम तापक्रम बढ्न नपाउने भएकाले देशभर चिसोसमेत बढ्नेछ । आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






