भरत पाण्डेय/काठमाण्डाै २४ कार्तिक । बिराट पेट्रोलियमबाट तेल ल्याउन अांफूले दिएको प्रयास सफल हुन नसकेपछि आयल निगमले सरकारलाई नै तेल ल्याउने कम्पनीको निर्णय गर्न दवाव दिएको छ । तेल ल्याउन आफूले अनुमति दिएको कम्पनीको बारेमा सर्वत्र आलोचना गरेर ठेक्का प्रकृया रद्द गर्नुपर्ने अवस्था आएपछि उनले सरकारलाई कम्पनी र मूल्य निर्धारण गरेर ठेक्का दिन दबाब दिएका हुन् ।
‘कसैले केही निर्णय गर्नैपर्छ, यसमा केही स्पष्ट निर्णय आउनुपथ्र्यो’, बिराटको बारेमा सरकारले निर्णय नगरेकोमा आक्रोस व्यक्त गर्दे निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले घुमारो पारामा भने, ‘तर, नियमानुसार गर्नुस् भनेर कसैले पनि ईन्भेष्ट गर्दैन ।’
उनले मन्त्री परिषद्ले निर्णय गरेर आफूलाई सर्वाधिकार दिए पनि आफूहरुले गरेको निर्णयका बारेमा विभिन्न समितिहरुलाई जवाफ दिइरहनु परेकोप्रति असन्तुष्टि पोखे । अब कुन कम्पनीले कति लिटर ल्याउने भनेर स्पष्ट किटान गरेर निर्णय गर्न आग्रह गरिसकेको उनले बताए । ‘हामीले अथक प्रयास ग¥यौँ, तर अनावश्यक टिकाटिप्पणी आयो, विभिन्न समितिहरुमा पुगेर पनि जवाफ दिनुपरेको छ,’ खड्काले भने ‘यो कम्पनीले प्रतिलिटर यति मूल्यमा तेल ल्याउन हामीले सरकार समक्ष पु¥याईसकेको स्थिति छ ।’
पाँच दिनदेखि भारतले ठप्प पारेको नाका केही खुकुलो पारे पनि खड्काले थोपो तेल नआएको दाबी गरे । तर, आइतबार मात्रै काकडभिट्टा र भैरहवा नाकाबाट ४२ ट्यांकर पेट्रोलियम पदार्थ भित्रिएको थियो ।
भारतले अब नाका ठप्प पारेकोले सरकारले कम्पनी र मूल्य तोकेर निर्णय नगरेसम्म इन्धन सहज नहुने र अब सरकारी निर्णय नभएसम्म कसैले पनि तेल ल्याउन आँट नगर्ने उनले बताए । ‘अब तेल ल्याउन कसैले पनि आँट नगर्ने मैले देखेको छु’, खड्काले भने, ‘यसमा स्पष्ट निर्णय आउनुप¥र्यो । तर, नियमानुसार गर्नुस् भनेर मान्छेले लगानी गर्दैन ।’
पहिल्यै सरकारी गृहकार्य नभएकोले यो अवस्था आएको उनको आरोप छ । खड्काले सरकारी गृहकार्य नभएकोले आएको समस्या समाधान गर्न कुनै निजी कम्पनीले त्यतिकै एकैदिनमा ५०/६० करोड लगानी गर्ने आँट नगर्ने ठोकुवा समेत गरे । ‘५०/६० करोड एकैदिन लगानी गर्नुपर्ने भएकाले प्राइभेटले नगरेको हो,’ उनले भने ‘अब आँट कसैले नगर्ने मैले देखेको छु ।’
नाका खुल्यो भने आईओसीले पठाईहाल्छ
खड्काले समस्या समाधान गर्न सरकारी पहल बढाउनुपर्ने भन्दै कूटनीतिक पहल गरेमा तेल आइओसीले नै दिने दाबी गरे । ‘आयल निगम र आइओसीका बीचमा निरन्तर सम्पर्क भैरहेको छ’, उनले भने ‘नाका खुल्यो भने आआइओसीले पठाइहाल्छ ।’
सरकारले कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशित गरेर निजी क्षेत्रले आफैं ल्याएर बेच्न सक्ने भनेको छ । तर, उनले आउने संभावना नभएको दाबी गरे । ‘हामीकहाँ केही निजी क्षेत्रबाट हामीले ल्याउँछौँ भनेर पत्रहरु आएका पनि छन्’ उनले भने ‘तर आउनसक्ने संभावना मैले देखेको छैन । ’






