गोरखा जिल्ला फुजेल– ७ का कृष्ण अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेर प्रहरीको फरार सूचीमा रहेका रामप्रसाद अधिकारीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले गएराति काठमाडौँबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनलाई आज बिहान चितवन ल्याइएको र आज दिउँसो अदालतमा पेस गरिने थापाले जानकारी दिनुभयो ।
अझै एकजना रुद्र आचार्य भने फरार रहेको र खोजी जारी रहेको थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनी अहिले बेलायतमा रहेका छन् । चितवनको रत्ननगरमा आफन्तलाई भेट्न आउने क्रममा २०६१ साल जेठ २४ मा कृष्णको हत्या भएको थियो ।
किटानी जाहेरी परेका ११ जनासहित अन्य दुईजना गरी १३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । किटानी जाहेरीमा परेकाबाहेक जानुका पौडेल र रुद्र आचार्यविरुद्ध पनि अभियोगपत्र दायर गरिएको थियो ।
अन्य आरोपीमा छविलाल पौडेल, भीमसेन पौडेल, अजिव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारीलगायत रहेका छन् । उनीहरुमध्ये केही धरौटीमा छुटेका छन् भने केहीलाई प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।
दोषीलाई कारबाहीको माग गर्दै उनका आमाबुबा नन्दप्रसाद र गङ्गामाँया अघिल्लो वर्ष कात्तिकदेखि अनशनमा बसेका थिए । बुबा नन्दप्रसादको अनशनकै बेला केही महिनाअघि काठमाडौंको वीर अस्पतालमा निधनसमेत भइसकेको छ । गङ्गामाँया भने अझै अस्पतालमा उपचाररत हुनुहुन्छ ।
फुजेल काण्डका आरोपी पक्राउ






