काठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्ताव राखिएता पनि संबैधानिक जटिलता रहेको बताएकी छन् ।
रफत सञ्चार क्लबले शुक्रबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरि अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताइन् ।
वर्तमान समयमा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सबैलाई समेटर अगाडि बढ्नु पर्ने भन्दै उनले सहमतिको सरकार निर्माण नभए संबिधान कार्यान्वयनमा जटिलता देखा पर्नुका साथै सरकार परिवर्तनले नेपालको आर्थिक विकास र राजनीतिक परिवर्तनमा ठूलो धक्का बेहोर्नु पर्ने बताइन् ।
नेपाली कांग्रेसमा सभापतिले केन्द्रीय समितिमा छलफल नगरी हरेक विषयमा अगाडि बढ्दा त्यसले नेपाली कांग्रेसलाई नै क्षति पुग्ने भएकाले केन्द्रीय समितिमा परामर्शमा गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोकिए नेपालको विश्वमै नकारात्मक छवि पर्ने भन्दै उनले भनिन्, ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भए नेपालले ठूलो परिवर्तनको बाटो समात्छ ।’






