चुनावपछि प्रचण्ड–बाबुरामको पहिलो भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ । भेट विहान १० देखि ११ बजेसम्म भएको थियो ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बुझिएको छ ।

भट्टराईको सचिवालयका अनुसार प्रचण्ड र भट्टराईबीच प्रतिनिधिसभा निर्वाचित भएकोमा बधाई साटासाट भएको थियो । भट्टराई गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

गोरखा–२ मा भट्टाईसँग माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनाव लडेका थिए । बामगठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली र प्रचण्ड गोरखा पुगेर श्रेष्ठको चुनावी सभामा सम्बोधन गरेका थिए ।

दुई नेताबीच चुनावपछि भएको यो पहिलो भेट हो । यसअघि प्रचण्ड र भट्टराईबीच प्रकाश दाहालको निधन हुँदा मंसिर ३ गते भेट भएको थियो । उक्त भेटपछि सोमबार पहिलो भेट भएको हो ।

असोज १७ गते वाम गठबन्धनको घोषणा हुँदा भट्टराईबीच सँगै रहँदा पछि भागबण्डामा कुरा नमिल्दा भट्टराईले कांग्रेससँग मिलेर गोरखा २ मा नारायणकाजी श्रेष्ठ विरुद्ध चुनाव लडेका थिए । बाबुरामको वाम गठबन्धनसँग सम्बन्ध टुटेसँगै माओवादी भट्टराईप्रति आक्रामक बनेको थियो ।
प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था जान्न बाबुराम पत्नी हिसिया यमीले भेटघाटका लागि तयारी गरेकी थिइन् । यही क्रममा बाबुराम दम्पती प्रचण्डको नयाँ निवास पुगेर भेट गरेका हुन् ।

केहि दिन पहिला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बालटकोटमा भेटेका भट्टराईले आज फेरि प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।
भट्टराई पार्टी वैठकका लागि भोलि पोखरा जाँदैछन् । नयाँ शक्ति पार्टीले चुनावी समीक्षाका लागि पोखरामा केन्द्रीय तहको वैठक आह्वान गरेको छ ।