सत्तारूढ पाँच दलिय गठबन्धन फुट्ने सकेंत

काठमाण्डौ । सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ । आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो ।

एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

पाँच दलीय गठबन्धनको बैठकका साथै प्रमुख प्रतिपक्षी एमालेसँग समेत उनी एमसीसी पारित गर्नुपर्ने विषयमा दोहोरो छलफल गर्दै आएका छन् । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की एमसीसी संसदबाट पारित गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । संसदबाट आउने सोमवार एमसीसी अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव सत्ता गठबन्धनका दुई दलले अस्वीकार गरेका छन् ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शनिबार बरु सोमबारको प्रतिनिधिसभा बैठक केही दिन सार्न आग्रह गरेका हुन् । स्थानीय तह निर्वाचनपछि मात्रै एमसीसी अनुमोदन गर्नुपर्ने अडान दुवै जनाले दोहोर्‍याएका छन् ।अमेरिकाले भने एमसीसी छिटो अनुमोदन गर्न ’दबाब’ बढाएको छ ।

तर, गठबन्धनका दुई दल तत्कालै एससीसी अनुमोदनका पक्षमा नउभिएपछि शनिबार भएको तीन नेताको छलफल बिनानिष्कर्ष टुंगिएको छ । तीन नेताको छलफलको प्रारम्भमै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने प्रस्ताव गरेका थिए । प्रतिनिधिसभा बैठक सोमबार तोकिएको छ । गठबन्धनका दलहरूले नमाने पनि एमसीसीलाई संसद्को निणर्य प्रक्रियामा लैजानुपर्ने दबाब कांग्रेसमा बढ्दो छ ।

माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालले भने स्थानीय तहको चुनावअघि एमसीसी टेबलमा लैजानै नसकिने अडान प्रधानमन्त्रीसँग राखेका थिए ।