काठमाडौं– सरकारले स्थानीय निकायको चुनावको घोषणा तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुने बताए ।
संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन समारोहमा आइतबार प्रधानमन्त्री दाहालले यही माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी आवश्यक विधेयक संसदबाट पारित गराई निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको बताए ।
‘छिटोमा वैशाख २५ गते र ढिलोमा वैशाख ३० गते सुरु गरी जेठको दोस्रो सातासम्म निर्वाचन सम्पन्न हुने गरी प्रमुख दलहरुबीच सहमति भएको छ,’ उनले भने । संविधान जारी गर्ने बेलामा नै असन्तुष्ट दललाई सहमति ल्याउन प्रमुख तीन दलबीच संविधान संशोधन गर्ने सहमति भएको जनाउँदै प्रधानमन्त्री दाहालले भने, ‘सोही दिशामा सरकारले संशोधनमार्फत संविधानको स्वीकार्यता फराकिलो बनाउन पहलकदमी लिएको छ ।’
प्रधानमन्त्री दाहालले संशोधनको प्रक्रिया अघि बढाएर असन्तुष्ट दललाई पनि निर्वाचनमा आउने वातावरण बनाउन सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै राजनीति विशुद्ध अङ्कगणितीय हिसाबले मात्र चल्न नहुने बताए ।






