मगर संघ यूके युएचएसबीले १३ जनवरीमा माघे संक्रान्ति मनाउदै

लन्डन। मगर संघ यूके युएचएसबी शाखाले १३ जनवरी शनिबार माघे संक्रान्ति भब्य रूपले मनाउने भएको छ।

युएचएसबी शाखाले फार्नबरो स्थित श्यामुएल कोडी स्पोर्टस् कलेजमा विशेष कार्यक्रमसहित माघे संक्रान्ति मनाउने  भएको हो ।

मगर संघ यूके युएचएसबी शाखाका उपाध्यक्ष  एवम् कार्यक्रम संयोजक बिर बलालले लण्डन  नेपाल  न्यूज सँग बोल्दै विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विविध धार्मिक एवम् सांस्कृतिक कार्यक्रमहरुका साथ माघे संक्रान्ति मनाइने ब्यापक तयारी गरिएको बताए ।

बलालका अनुसार बिहान साढे १० देखि साढे ११ बजेसम्म माघे संक्रान्तिविशेष पूजाआजाको कार्यक्रम रहनेछ भने मध्यान्ह १२ देखि राती १० बजेसम्म विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु गरिनेछ।

कार्यक्रममा प्रस्तुति दिन चर्चित लोकदोहोरी गायिका मुना थापा मगरलाई ल्याउने तयारी छ । त्यस्तै, स्थानीय युवा समूह र नौमती बाजाको पनि विशेष प्रस्तुति रहनेछ।

कार्यक्रममा आकर्षक पुरस्कारसहितको राफल ड्र पनि गराइंदैछ ।  जसमा पहिलो पुरस्कार सुनको गहना छ भने दोस्रोदेखि पाचौं पुरस्कारमा नगदसहित अन्य आकर्षक उपहार दिइनेछ ।  

कार्यक्रमको टिकट शुल्क २० पाउन्ड छ ।  बालबालिकालाई १५ पाउन्ड मात्र लाग्नेछ भने पूजाआजामा मात्रै सहभागी  हुन कुनै शुल्क लाग्नेछैन।

कार्यक्रममा १ सय पाउन्ड, ७५ पाउन्ड र ५० पाउन्ड स्पोन्सर गर्नेलाई क्रमश: तीन, दुई र एक वटा टिकट मिल्नेछ।

कार्यक्रममा सहभागी हुन आयोजक मगर संघ युएचएसबी शाखा अध्यक्ष  ॠषिराम राना,कार्यक्रम संयोजक एवम् उपाध्यक्ष बिर बलाल, महासचिव गणेश बुढाथोकी र कोषाध्यक्ष गोप सिंजालीले सबैलाई आव्हान गरेका छन्।