युरोपबाट फर्किएपछि बाबुरामले भने, ‘दक्षिणपन्थी विकल्प आउन नदिन सतर्क हुनुपर्छ’

काठमाडौं- प्राज्ञिक भ्रमणका रुपमा गत साउन ६ गते युरोप गएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई बुधबार साँझ स्वदेश फर्किएका छन् । भ्रमणबाट फर्किएपछि उनले भने, ‘वैकल्पिक राजनीतिको कुरा गर्दा विकल्पमा दक्षिणपन्थी प्रकारका शक्तिहरु अगाडि आउने खतरा पनि देखियो त्यसमा सतर्क हुनुपर्ने महसुस भयो ।’

‘अहिले विश्वव्यापी रुपमा नै पुराना राजनीतिक विचार, शक्तिहरुबाट जनतामा वितृष्णा पैदा भएको नै हामीले पाउँछौं । युरोपका कतिपय देशहरुमा पनि नयाँ नयाँ शक्तिहरुको उदय हुँदै गएको र पुराना विचार, पुराना पार्टीहरुबाट देशका समस्या हल हुन नसकेको हामीले देख्यौं । थुप्रै देशहरुमा वैकल्पिक राजनीतिक शक्तिहरुको उदय हुँदै गइरहेको हामीले पायौं । खासगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले छोटै समयमा विजय हासिल गर्नुभयो र उहाँका पार्टीका सांसदहरुसँग हामीले कुरा गर्दा उनीहरुले आफ्नै ढंगले नयाँ विचार अघि ल्याउन खोजेको हामीले पायौं ।

जर्मनीमा अलिकति दक्षिणपन्थी प्रकारका शक्तिहरुको उदय हुन लागेको अवस्थामा फेरि एकचोटि लोकतान्त्रिक प्रगतिशील शक्तिहरुले वैकल्पिक धार सिर्जना गर्नुपर्छ भन्ने खालको बहस सुरु गरेको हामीले देख्यौं । इटलीमा पनि वैकल्पिक राजनीतिक धारबारे बहस भएको हामीले देख्यौं’, उनले भने, ‘यस हिसाबले अहिले २१औं शताब्दीको सुरुमा हिजोको शितयुद्धकालीन बजारमुखी उदारवादी पुँजीवाद र राज्यनियन्त्रित समाजवादका जुन दुईवटा धार थिए ती शक्तिहरुको विकल्पमा क्रमशः जनताले प्रगतिशील लोकतान्त्रिक तेस्रो धार खोजेको हामीले देख्यौं । त्यसैले नेपालमा पनि हामीले वैकल्पिक राजनीतिका कुरा गरिराखेका छौं त्यसको सान्दर्भिकता थप बढेको हामीले महसुस गर्‍यौं ।’

वैकल्पिक राजनीतिको कुरा गर्दा विशेष ध्यान दिनुपर्ने पक्षबारे उनले भने, ‘पुराना राजनीतिक शक्तिहरुको विकल्प दिँदा खालि सतही ढंगले रुप पक्षमा मात्रै केन्द्रित भएर विकल्पका कुरा गर्‍यौं भने चाहिँ दक्षिणपन्थी प्रकारका विकल्पहरु अगाडि आउने खतरा पनि देखियो । त्यो इटलीमा पनि देखियो, जर्मनीमा पनि त्यस्तो देखिन्छ र अरु केही देशमा पनि अलि दक्षिणपन्थी प्रकृतिका शक्तिहरु अगाडि आउन खोजेको भान हुन्छ । त्यसैले यो पक्षमा पनि सतर्क हुँदै हामीले दक्षिणपन्थी यथास्थितिवादी विकल्प जसले खालि रुप पक्षलाई मात्रै जोड दिन्छ, विचार, राजनीति र कार्यक्रमिक पक्षलाई, संरचनात्मक परिवर्तनका पक्षलाई ध्यान दिँदैन त्यसबाट चाहिँ सतर्क हुनुपर्ने हामीलाई अनुभुति भयो । त्यसैले हामीले उन्नत प्रकारको लोकतन्त्र, समावेशी लोकतन्त्र र समावेशी विकासलाई केन्द्रमा राखेर अग्रगामी, प्रगतिशील लोकतान्त्रिक प्रकृतिको विकल्प निर्माण गर्नमा ध्यान दिनुपर्छ भन्ने अनुभुति हामीलाई भएको छ ।’

भ्रमणका क्रममा केही राजनीतिक प्रकृतिका भेटघाट पनि भएका थिए । रुसमा सत्तापक्ष र विपक्षी पार्टीका सांसदहरुसँग राजनीतिक प्रकृतिका कुराकानी भएको र उनीहरुसँग कसरी त्यहाँको पुरानो साम्यवादी व्यवस्थाले काम गरेन र नयाँ खोज अगाडि बढेको छ भन्नेबारे कुराकानी भएको संयोजक भट्टराईले बताए ।