कुन सचिवको कहाँ सरुवा ?

काठमाडौं– नयाँ सरकार आएपछि पहिलोपटक सचिवहरुको व्यापक सरुवा गरिएको छ ।

नयाँ सरकार आएसँगै आफूअनुकूलका सचिव ल्याउने परम्परा छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले १४ जना सचिवको सरुवा गरेको हो ।

गृह सचिव सूर्य सिलवाललाई भूमिसुधार, अर्थसचिव सुमन शर्मालाई ऊर्जा, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोग, युवा तथा खेलकुद मन्त्रालयका दीपेन्द्रनाथ शर्मा र अतिरिक्त समूहमा रहेका विजय मल्लिकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई गृह, भूमिसुधारका लोकदर्शन रेग्मीलाई अर्थ, वन तथा भूसंरक्षणका मधु रेग्मीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र ऊर्जाका राजेन्द्रकिशोर क्षेत्रीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

शान्ति तथा पुनर्निर्माणका रमेशकुमार शर्मालाई महालेखा नियन्त्रणको कार्यालय, रक्षा मन्त्रालयका ईश्वरीप्रसाद पौडेललाई शान्ति तथा पुननिर्माण, अतिरिक्त समूहमा रहेका उदयचन्द्र ठाकुरलाई वन तथा भूसंरक्षणमा, राष्ट्रिय सूचना आयोगका लक्ष्मण मैनालीलाई युवा तथा खेलकुद मन्त्रालय, सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शरदराज बिष्टलाई सूचना आयोगमा सारिएको छ ।

यसैबीच उपराष्ट्रपति कार्यालयकी निमित्त सचिव जीवनप्रभा लामालाई एमाओवादी अध्यक्ष संयोजक रहेको सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक समितिको सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।