काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले सत्तारुढ दलले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिने बताएपनि नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत एक धारणा सार्वजनिक गर्दै उनले अब पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने स्पष्ट पनि पारेका छन् । उनले प्रधानमन्त्री देउवाको कारण पार्टीलाई सच्चिने मौका मिलेको तर्कसहित उनलाई धन्यवाद दिँदै अब सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने बताएका छन् ।
उनले भनेका छन्, ‘राप्रपालाई नियतिले फेरी एक मौका दिएको छ । सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने । हाम्रो छनौट भन्दा पनि यो अवसर प्रधानमन्त्रि शेरबहादुर देउवाको सौजन्यताबाट प्राप्त भएको हो ।’
प्रधानमन्त्रीलाई भोट हालेको र सरकारलाई समर्थन गरेको आधारमा स्वभाविक रुपले राप्रपा सरकारमा सहभागी हुने मनस्थितिमा भएको तर दोस्रो चरणमा पनि मन्त्रिमण्डलमा सहभागि नगराइएपछि अब सहभागि हुने अध्याय सकिएको थापाको भनाई छ । उनले भनेका छन्, ‘ प्रधानमन्त्रि देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका बरिष्ठ नेता पशुपती शमसेर राणा र म स्वयंको उपस्थितिमा उप्रप्रधानमन्त्रि सहित चार मन्त्रालय लिएर सरकारमा सहभागि हुन आग्रह पनि गर्नु भएको हो । अन्ततः मन्त्रिपरिषदको दोस्रो बिस्तार पनि भयो । कारण जेसुकै होस् तर, राप्रपा सरकारमा जाने साईत जुरेन । अब शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय समाप्त भएको छ । कुनै वार्गेनिङ वा मोलतोलले राप्रपाको यो निर्णयलाई प्रभावित गर्न सक्दैन ।’
राप्रपा सरकारमा जाने साइत जुरेन, शेरबहादुरजीलाई धन्यवादः कमल थापा






