दाङ- दाङको लमही नगरपालिका–९ बगारबाबामा बिबाहबा फर्किएको जीप र बस एकआपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।
चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा जीपमा सवार दुलाहाका बुवा आमा र आफन्त रहेका छन् । प्रहरीका अनुसार दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका ८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीय विमला खत्री र आफन्त ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का रहेको मृत्यु भएको हो ।
त्यस्तै, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको पनि ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरु नेपालगन्जमा उपचार भइरहेको छ । दुलाहा र दुलही भने अर्को जीपमा रहेका कारण सुरक्षित भएको प्रहरीले जनाएको छ ।






