नेपालगञ्ज, २२ फागुन । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालका सत्तापक्षलाई भारतीय शासकहरुले नपत्याउने दाबी गरेका छन् ।
भारत भ्रमण सकेर लखनउ हुँदै नेपालगन्ज नेता भट्टराईले सत्ता पक्षसँग भारतीय शासकहरुसँग दह्रो रुपमा कुरा राख्ने हैसियत नभएको बताए । उनले भने-‘यहाँका सत्तापक्षहरु कसैको पनि भारतीय शाशकहरुसँग दह्रो रुपमा कुरा राख्ने हैसियत छैन । जान्छन्, मामुली कर्मचारीलाई भेटेर उसैले भनेको कुरा सुनेर मदिरा पान गरेर आउँछन् ।’
सत्ताधारीहरुको भारतीयहरुसँगको सम्बन्ध राजनीतिक नभएको एमाओवादी नेता भट्टराईको दाबी थियो ।
विदेशीको चाकडी गर्नेले भ्रम छरे
उनले आफूले भारतसँग गुहार मागेको भन्ने प्रचार भ्रमक र तथ्यहीन भएको बताए । अहिले नेपालको राष्ट्रिय राजनीतिमा अन्तरराष्ट्रिय सरोकार हुनु स्वाभाविक भएको भन्दै उनले विदेशी सत्तालाई चाकडी गरेर आफ्नो सत्ता टिकाउनेहरुले आफ्नो भ्रमणलाई भ्रमित बनाउन खोजेको आरोप लगाए ।
हिजो युद्वकालमा समानन्तर सत्तामा रहेको बेलामा भारत लगायत संयुक्त राष्टसंघलाई पत्र लेखेको स्मरण गर्दै उनले भने-‘अहिले कसैलाई केही भनेको छैन ।’
मैले देशको शान बढाएँ
एमाओवादी नेता भट्टराईले आफ्नो भारत भ्रमणले नेपालको गौरव बढाएको दाबी समेत गरेका छन् । नेपाली दूताबासमा बसेर भारतीय नेताहरुलाई भेट गर्न बोलाएको भन्दै उनले भने-‘म भारतीय दूताबासमा बसेको देशको शान बढाए ।’
उनले अघि थपे-‘यहाँ राष्ट्रियताको नाटक गर्ने उपचारको नाममा विदेश जाने विदेशीको रगत र अंग हालेर आउने अनी उनीहरुकै सोझो हुनेहरुकै बोलबाला छ यहाँ । तर, मैले भारतमा रहँदा आफ्नै दूताबासमा बसेर राष्ट्रियता जोगाएर आएँ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भारतीय जनता र भारतका प्रगतिशिल शक्ति नेपालको शान्ति प्रक्रिया पुरा भएको हेर्न चाहेको आफूले भेटका क्रममा पाएको बताए । नेपालको विवाद अग्रमन कि पश्चगमन भन्ने नै भएको आफुले भारतीयहरुलाई बताएको उनको जानकारी दिए ।
अहिले युद्वविरामको अवस्था
वर्तमान अवस्थालाई युद्वविरामको अवस्थाको तुलना गर्दै भट्टराईले सहमति कायम नभए फागुन २६ गते संघर्षको दोस्रो चरणको कार्यक्रम घोषणा हुने बताए ।
वार्ता कांग्रेस र एमालेले भंग गरेको आरोप लगाउदै भट्टराईले भने-‘एकै पटक पूर्व र पश्चिम जान सकिँदैन । मतदान र सहमतिको प्रक्रिया सँगसगै हुन नसक्ने भएकोले हामीहरु आन्दोलनमा गएका हौं ।’






