मुलुकलाई शान्ति र अहिंसा चाहिएको छ – प्रधानमन्त्री

काठमाडौँ, २२ फागुन ।  प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा अहिले सत्य, शान्ति र अहिंसाको आवश्यकता रहेकाले बौद्ध धर्मावलम्बीलाई शान्ति र अहिंसाको सन्देश फैलाउन आग्रह गरेका छन् ।

बौद्ध धर्मका प्रसिद्ध तीर्थस्थलको भ्रमणपछि भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पदाधिकारी एवम् धर्मगुरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले गौतम बुद्धको जन्मभूमि नेपालमा यतिखेर द्वन्द्व, हिंसा र विवाद नभई अहिंसा, शान्ति र सहमतिको आवश्यकता रहेको बताए।

“मुलुकमा सधैँ आन्दोलन मात्र भएकाले गरिबी, अभाव र दुःख हट्न सकेन, “प्रधानमन्त्री कोइरालाले भने “अहिले जनताले शान्ति, अमनचयन र समृद्धि खोजेकाले कसैले पनि आन्दोलन गर्न हुँदैन ।”

नयाँ बन्ने संविधानले मात्र विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र सबै जातजाति, धर्म, लिङ्ग, क्षेत्र र वर्गका हकअधिकारलाई सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबैको सहयोगको अपेक्षा गरे।

सो भेटमा समितिका पदाधिकारीले वार्षिक कार्यक्रम ‘३९औँ बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम’को अनुभव सुनाउँदै गुम्बा, विहार, छ्योर्तेन, कोइबोलगायत ऐतिहासिक धरोहरको सम्वद्र्धन र संरक्षणसम्बन्धी ऐन कानुनको निर्माणलगायत माग गरेका थिए ।
समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बौद्ध शिक्षासम्बन्धी पर्याप्त शैक्षिक सामग्री एवम् अनुदानको व्यवस्था हुनुपर्ने, गुम्बाका जग्गा तत्काल गुम्बाको नाउँमा कायम हुनुपर्नेलगायत माग गर्दै मुलुकमा ६१ जिल्लाका दुई हजार १९२ गुम्बा समितिमा दर्ता भएको र करिब चार हजार गुम्बा समितिमा दर्ता गर्न बाँकी रहेको जानकारी गराए ।

सरकारले ३९ वर्षदेखि नेपालका ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका गुम्बाविहार, बहाल, बहिल, तथा छ्र्योतेनको संरक्षण र सम्वद्र्धनका लागि लामा, भिक्षु धर्मगुरुलाई भ्रमणको व्यवस्था मिलाउँदै आएको छ । बुद्धको जन्मथलो लुम्बिनीलगायत भारतका बोधगया, सारनाथ, कुशीनगर, लुदुकवा, सुजता, कुटी, गया, वैशाली, राजगीर, नालन्दालगायत प्रसिद्ध तीर्थस्थलको भ्रमण गरेको सा टोलीमा १६ जिल्लाका २१ लामा एवम् आनी र समितिका कर्मचारीको सहभागिता थियो ।