एनआरएनहरुलाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको छः अर्थमन्त्री शर्मा

 

काठमाडौं । गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताउँदै उनले भने, ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ, उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।’

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उनले बताए ।

मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्नुहुँदै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताए ।

‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उनले भने, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’

पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

यस्तै उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।