महाधिवेशनमा माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न मिलेनः ओली

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् ।

एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले बताए ।

महाअधिवेशनमा नेता नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’

ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताए । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ उनले भने ।

आउने चुनाव पछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने ।