गोरखा- सरकारले लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकीले अब घर बनाउन पाइने भन्दै खुसी साटेका छन् ।
लाप्राकको पुरानो गाउँ भूकम्प र पहिरोले गर्दा असुरक्षित छ । विसं २०५६ मा गएको पहिरो र वैशाखमा गएको भूकम्पले गाउँको तल्लो भेग चिराचिरा परेको छ । पुरानै लाप्राकमा नयाँ बस्ती विकास गर्न नमिल्ने भूगर्भविद्को भनाइपछि लाप्राकका भूकम्पपीडित सुरक्षित जग्गाको खोजीमा भौँतारिएका थिए ।
छ सय १७ अस्थायी शिविरमा कष्टकर जीवन निर्वाह गर्दै आएका लाप्राकीलाई भूकम्प गएको नौ महिनापछि सरकाले १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको गुप्सीपाखा दिने निर्णय गरेको थियो । गुप्सीपाखामा व्यवस्थित, एकीकृत बस्ती विकास गर्ने सरकारी योजनाको स्वागत गरेको स्थानीय किसान गुरुङले बताउनुभयो ।
सरकारले लाप्राकीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय गरेको सुनेपछि खुसी हुनुभएका लाप्राकका पूर्व गाविस अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो – “जग्गा प्राप्त भएलगत्तै स्थायी घर बनाउने कामको सुरुवात गर्नुपर्छ ।” गुप्सीपाखा स्थानीय भूमे सामुदायिक वनको जग्गा हो । गुप्सीपाखामा व्यवस्थित बस्ती विकासको प्रक्रिया अघि बढाउन सहरी विकास र पुनःनिर्माण प्राधिकरणलाई सरकारले यसअघि निर्देशन दिइसकेको छ ।






