नेपाल प्रहरी मुख्य कार्यालय भित्रै चोरी, यूएन मिसनको प्रश्नपत्र बाहिरिएपछि हल्लीखल्ली

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालको यूएन शाखाभित्रै संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको छ ।

शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि–स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो ।

शनिबार भएको प्रि–स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

सञ्चारमाध्यममा समेत यसबारे समाचार आएपछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए । त्यसअघि पनि युएन शाखा आफैंले प्रकरणमा छानविन गरिरहेको थियो ।

शाखाका एक अधिकृतले प्रश्न पत्र बाहिरिएको खबर पाएपछि प्रश्नको सेट नै परिवर्तन गरेर परीक्षा गराइएको दाबी गरे । लामा नेतृत्वको समितिले गरेको अनुसन्धानका क्रममा यूएन शाखाकै एक कर्मचारीले प्रश्न पत्र चोरी गरेको पाइएको छ । समिति स्रोतका अनुसार चोरी भएको पुष्टि भएपछि युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बम र साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई पक्राउ गरिएको छ ।

गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।

तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन । प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।