काठमाडौं – नेपाल उद्योग परिसंघले बैंकले उद्योगधन्धा नै बन्द हुने गरी ब्याजदर बढाएकोमा आपत्ति जनाएको छ । परिसंघले बैंकले तरलता अभाव देखाउँदै ब्याजदर बढाएकामा विरोध जनाएको छ । परिसंघले असोजदेखि बैंकिङ प्रणालीमा देखिएको तरलता संकटलाई सूक्ष्म ढंगले नियालिरहेको जनाएको छ । परिसंघले विभिन्न बाह्य तथा आन्तरिक राजनीतिक कारणले थलिएको नेपालको औद्यौगिक क्षेत्र भर्खरै तंग्रिन लागेको समयमा ब्याजदर बढाउँदा त्यसको दिर्घकालीन असर पर्ने जिकिर गरेको छ ।
परिसंघले अहिलेको वृद्धि भएको ब्याजदर छोटो समयका लागि भएकाले पहिला नै लिइसकेका कर्जामा यसलाई समेट्न नहुनेमा जोड दिएको छ । ‘पहिला नै सञ्चालन भइसकेका उद्योगमा पनि बैंकले ब्याजदर बढाउने पत्र आउने क्रम सुरु भएको छ,’ परिसंघको विज्ञप्तिमा उल्लेख छ । परिसंघले ब्याजदरको अवस्था समाधान गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रह गरेको छ ।






