संशोधनका लागि दबाब दिन माघ एक गते काठमाडौंको नाचघरमा अन्तर्क्रिया गर्ने निर्णय
काठमाडौं २७, पुस । मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ । संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत दुई तिहाई पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जन सहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको दोहऱ्याएको छ ।
सर्वोच्च अदालतले संशोधन रोक्न नहुने आदेश दिइसकेको अवस्थामा नेकपा एमालेले संसद् अवरोध र संशोधनको विरोध गर्नु अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेको छ ।
माघ एक गते नाचघरमा गठबन्धनको बृहत् अन्तरक्रिया
संविधान संशोधनको माग गर्दै आन्दोलनरत संघीय गठबन्धनले आगामी माघ १ गते काठमाडौंका बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । ‘वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन/परिमार्जन’ बिषयक गठबन्धनले अन्तरक्रिया गर्दैछ ।
संशोधनका लागि सरकारलाई दबाब दिन गठबन्धनले राष्ट्रिय स्तरको अन्तरक्रिया गर्ने निर्णय गरेको हो । गठबन्धनको आह्वानमा हुने सो अन्तरक्रियालाई घटक दल नेपा: राष्ट्रिय पार्टीले व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।
संविधान संशोधनमा सरकारी ढिलाई र एमालेको अवरोधले गर्दा संशोधनदेखि संविधान कार्यान्वयनसम्मका सबै प्रक्रिया अवरुद्ध भइसकेकोले भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।






