एनआरएनए यूकेको निर्वाचन सकियो, कति खसे भोट ? के के भयो ?

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनको समय सकिएको छ । सोमबार मध्यान्ह १२ बजेदेखि मंगलवार अर्थात आज दिउँसो १२ बजेसम्म मतदानको समय तोकिएको थियो । सोही अवधिमा कुल ११ हजार ३६३ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न समय दिइएको थियो । कुल संख्या मध्ये कतिजनाले मताधिकार प्रयोग गरे भन्ने विवरण अझै आइसकेको छैन ।

देशभर सौहार्दपूर्ण रुपमा अनलाइन मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बताए । उनका अनुसार निर्वाचनको मतपरिणाम भने विहिबार सार्वजनिक गरिने छ । यसपटक अध्यक्षमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना राई प्रधानले प्रतिस्पर्धा गरिरहेका छन् ।

कोभिड १९ महामारीको कारण यसपटक अनलाइन मार्फत मतदान गराइएको हो ।

सामान्यतया अनलाइन मतदान सकिए लगत्तै नतिजा आइहाल्ने भएपनि यहां निर्वाचनको जिम्मा लिएको बेलायती कम्पनी ‘च्वाइस भोटिङ’ ले विहिबारमात्र नतिजा आउने भनेकाले ढिलाइप्रति कतिपयमा आशंका पनि जन्माएको देखिन्छ । अध्यक्षमा प्रेम गाहा मगर, रोजिना राई र दीपक श्रेष्ठवीच भएको त्रिपक्षीय प्रतिस्पर्धामा गाहा मगरको सम्भावना बलियो रहेको बताइन्छ ।