लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्व महासचिव आर.के त्रिपाठीले चुनावी लोकतान्त्रि प्रक्रिया रहेकोले यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
एनआरएनए एनसीसी यूकेको लागी आगामी २०२१–२०२३ कार्यकालका लागि नेतृत्व चयन गर्न मतदान भइरहेको समयमा उनले उक्त कुरा बताएका हुन् ।
नेतृत्वका लागि चुनावी मैदानमा रहेका सबै उम्मेदवारहरुलाई शुभकामना व्यक्त गर्दै उनले चुनाव जसको पक्षमा आएपनि स्वीकार गरी एकअर्कालाई सहयोग गर्दे अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘चुनाव लोकतान्त्रिक प्रक्रिया हो।यो प्रक्रियामा प्रवेश गरिसकेपछि प्राप्त परिणामलाई पनि हामीले स्वाभाविक रुपमा लिनुपर्ने हुन्छ।यस्तो प्रक्रियामा हार जित भन्ने कुरा गौण हो। सबैको स्वामित्व ग्रहण गर्न सक्ने संस्था बनाउनु निर्वाचित नेतृत्वको मूख्य चुनौती हुन्छ।’
एनआरएनए यूकेलाई थप गतिशील बनाउदै लैजान यतिबेला आम सदस्य मतदाताको भूमिका अहम हुने समेत उनले बताए ।
उनले भनेका छन्, ‘आम सदस्य साथीहरुले यो बेला अत्यन्त जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्दै डेमोक्र्याट साथिहरु लाई नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु र अनुरोध समेत गर्दछु ।’
हाल अध्यक्ष पदमा प्रेम गाहा मगर, दीपक श्रेष्ठ र राजिना राईले प्रतिस्पधौ गरिरहेका छन् । तीन जना मध्ये एक जना विजेता र अरु २ जना उपविजेता हुनुपर्ने अवस्था रहेको भन्दै उनले भनेका छन्, ‘एनआरएनए युकेको निर्वाचनमा आगामी नेतृत्वको दौडमा मैदानमा रहनु भएका अध्यक्ष पदका ३ जना एनआरएनए अभियन्तालाई सफलताको हार्दिक सुभकामना साथै गणितीय खेलमा एक जना बिजेता २ जना उप बिजेता हुने भएकोले जो अघि परे पनि सौहार्दपूर्ण रुपले मिलेर अघि बढ्न र यो हासो सधै कायम राख्न अनुरोध गर्दछु ।’
एनआरएनएमा काम गर्दा उनले विभिन्न स्टेटहरुमा गएर कार्यसमिति विस्तार गर्ने तथा एनआरएनएलाई संस्थागन गर्ने चर्काे अभियान चलाएका थिए ।
एनआरएनएमा रहँदा बेलायतका विभिन्न राज्यहरुमा समिति गठन गर्ने र त्यहाँबाट दिएको सुझाव र सल्लाहको आधारमा उनी अघि बढेका थिए । निर्वाचन सकिएपछि पनि उनले भ्रमणमा जाने तयारी गरेको बताए ।






