बेइजिङ, २३ वैशाख । नेपालका भूकम्प पीडितको सहयोग एवम् उद्वारका लागि चीन सरकारले थप जहाज पठाउन लागेको जनाएको छ । पीडितका लागि सहयोग सामग्री उपलब्ध गराउन, सहायता वा उद्वारका लागि आइएल ७६ नामका थप छ वटा जहाज नेपाल पठाउन तयारी अवस्थामा राखिएको चिनियाँ एयरफोर्सले जनाएको छ । ती जहाज चिनियाँ सहर सेङ्दु र काठमाडौंका लागि कम्तीमा पनि १३ पटक सम्म उडान गर्नसक्ने एयर फोर्सका कर्णेल सेन जिङ्कले जानकारी दिनुभएको छ ।
ती उडान मङ्गलबार रातिदेखि नै सुरु हुने पनि उहाँले बताउनुभएको छ । ती जहाजले पीडितका लागि पाल, खाद्यान्न, जेनेरेटर लगायतका सामान बोक्नेछन् । यसअघि नै सो एयरफोर्सले यस्ता जहाजहरु पठाइसकेको छ । ती जहाजले अप्रिल २७ देखि मे ४ सम्ममा नेपाल चीनबीच कम्तीमा पनि २० वटा उडान गरिसकेका छन् ।






