एजेन्सी । भारतको गुजरात स्थित सुरतको कोसम्बाको नजिक राती सडकमा सुतिरहेका मजदुरहरूमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । ती सबै मजदुरहरु राजस्थानको बाँसवाड़ा जिल्लाका निवासी हुन् ।
“सूरतमा मारिएका मजदुरहरुको पोस्टमार्टम अझै चलिरहेको छ। हामीले गाउँ विकास अधिकारी, सर्कल अफिसर, मुख्य कार्यकारी अधिकारी, सरपंचलाई कुशलगढबाट गुजरात पठाएको छौँ ।“ बाँसवारा कलेक्टर अंकित कुमार सिंहले भने ।
अधिकारीहरुले यस दुर्घटनामा सात महिला, एक बालक र सात पुरुषको मृत्यु भएको बताएका छन्। घाइते ६ जनालाई सूरतको स्मिमर अस्पतालमा भर्ना गरिएको छ।
ज्यान गुमाउने मजदुरमध्ये ५ जना कुशलगढ़ गाउँका थिए । त्यस्तै पाँच जना कामदार भगतपुरा गाउँका बासिन्दा थिए र ती सबै एकै परिवारका भएको बताइएको छ । मृतक मजदुरमध्ये भीमपुरा, गारदखोर र डोल्पुरा गाउँका बासिन्दा थिए। मृतक र घाइते मजदुरहरूको परिवार पहिचान गर्न प्रशासनिक अधिकारीहरू गाउँ पुगेका छन्।

मुख्यमन्त्री विजय रुपाणीले मृतकका आफन्तलाई दुई लाख र घाईतेहरुलाई ५० हजार रुपैयाँ मुख्यमंत्री सहायता कोषबाट प्रदान गर्ने घोषणा गरेका छन् ।
गुजरातको सिमानामा रहेको राजस्थानको बाँसवारा, डुंगरपुरबाट ठूलो संख्यामा मानिसहरू रोजगारीका लागि गुजरात जान्छन् । यी कामदारहरू पनि लामो समयको लागि गुजरातमा काम गर्न गएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाहरूको मृत्युमा शोक व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
उनले घाइतेहरुलाई ५० हजार रुपैयाँ दिइने जनाएका छन् ।
यसैबीच, राजस्थानका मुख्यमंत्री अशोक गहलोतले शोक व्यक्त गर्दे घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले मृतकका परिवारलाई सीएम राहत कोषबाट २ लाख र घाइतेलाई ५० हजार नगद सहयोग गर्ने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।






