ललितपुरको चाँगाथलीमा श्रीमान्–श्रीमती घरभित्रै मृत भेटिए

काठमाडौं । ललितपुरको चाँगाथलीमा एक दम्पत्ति मृत फेला परेका छन् । महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा डेरा गरी बस्ने ३२ वर्षका सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत फेला परेका हुन्।

उनीहरु रहेको कोठामा सेल्फास नामक विषादी फेला परेको र दुवैजनाले बान्दा समेत गरेको हुँदा विष सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीले घटना भएको कोठा आसपास कुनै पनि किसिमको नोट फेला पारेको छैन । उनीहरुको ६ महिनाअघि मात्रै विवाह भएको थियो। उनीहरु परिवारसहित लुभुमा बस्दै आएका थिए।

केही दिनअघि मात्रै सागरका बुवा–आमा बालकोटस्थित छोरीको घरमा बास बस्न गएका थिए। त्यहाँबाट पटक–पटक फोन गर्दा समेत नउठेपछि कोठामा आएर हेर्दा छोराबुहारी मृत फेला परेको बयान उनीहरुले दिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रजवल महर्जनले जानकारी दिए।

यसअघि गएको पुस २५ गते काठमाडौँको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए । सो घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।