सुनसरी– प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै प्रदेशको राजधानी कहाँ बनाउने भन्नेमा स्थानीय स्तरमा बहस शुरु भएको छ । कतिपय उम्मेदवारहरुले आफुतिर मत तान्न पनि मतदाताले जा भन्यो त्यहि राजधानी बनाउन प्रयास गर्ने आश्वसन दिदै आएका छन् ।
खासगरी प्रदेश नम्बर १ को राजधानी सुनसरीको इटहरी, मोरङको विराटनगर या धनकुटमा बनाउने भन्ने बहस पुर्वी क्षेत्रमा चर्को रुपमा उठेको छ । प्रदेश राजधानीमा मतदाताको चासो भएकाले उम्मेदवारहरुले पनि आफुअनुकुल राजधानी बनाउन प्रयास गर्ने आश्वसन दिदै आएका छन् । सुनसरी क्षेत्र नं २ (क) बाट वाम गठबन्धनतर्फका उम्मेद्धवार सर्बध्वज साँवा भन्छन् ‘यदि सुनसरीको इटहरीलाई प्रदेश १ को राजधानी कायम नगरिए बलिदानी चढाउन पछि परिदैन’ ।
एमालेले इटहरीलाई राजधानी बनाउन अन्तिम अस्त्र समेत प्रयोग गर्छ ।’ इटहरी भौगोलिक, सुरक्षा र सम्बृद्धिका हिसावले राजधानी बनाउन उपयुक्त हुने उनको भनाई छ ।
त्यस्तै काग्रेसबाट उम्मेद्धवार बनेका हेमकर्ण पौडेलले पनि राजधानी कायम गर्ने बिषयमा इटहरीको एकता अपरिहार्य रहेको बताए । ‘राजनीति भन्दा माथि उठेर राजधानीका लागी सहि नेतृत्व गर्न आवश्कता छ’ उनले भने ।
‘इटहरी हरेक हिसाबले उपयुक्त छ’ संघीय व्यवस्था अन्तगर्तको राजधानी बनाउने अभियान शुरु भएको भन्दै सुनसरी क्षेत्र नं २ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेद्धवार हिमाल सुवेदीले इटहरीलाई राजधानी नतोकिए रगत बगाउन पछि नपर्ने बताए ।
यस्तै सुनसरी क्षेत्र नं ३ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाकी उम्मेद्धबार भगवती चौधरीले पनि हिमाल, पहाड र तराईको संगमस्थलको रुपमा रहेको इटहरीलाई राजधानी बनाउने कुरामा आफु प्रतिबद्ध रहेको बताईन् ।
तात्कालिन लोकतान्त्रिक फोरमका तर्फबाट पूर्व सांसद कल्पना चौधरीले पनि उपप्रधानमन्त्री विजय गच्छदारसमेत इटहरीलाई राजधानी बनाउने पक्षमा रहेको बताइन् । ‘गच्छदारजी इटहरीलाई राजधानी बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तपाईहरुसँगै प्रदेश राजधानीको आन्दोलनमा हुनुहुन्छ।’ उनले संसदमा आफूसँगै रेवतीरमण भण्डारी, विजय गच्छदार लगायतले इटहरीलाई राजधानी बनाउनुपर्ने माग गर्दै कुरा राखेको सुनाइन् ।
राजधानी सरोकार समाज इटहरीको पहलमा आइतबारबाट दबाब दिन अभियान नै थालिएको छ । समाजले आयोजना गरेको र्यालीमा इटहरीका सरोकावाला, प्रतिष्ठित व्यक्ति, विभिन्न दल, संघसंस्थाका प्रतिनिधिहरु र इटहरीवासीको सहभागिता रहेको थियो ।
यातायात, सुरक्षा सबै हिसाबले इटहरी नै प्रदेशको राजधानी हुन उपयुक्त भएको भन्दै सहभागिले प्लेकार्ड प्रदर्शन गरेका थिए । र्याली इटहरी चोक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । सरोकार समाजले प्रदेश १ को राजधानी इटहरी बनाउन उत्तर धरान, दक्षिण दुहबी, इनरुवा मोरङको बेलबारीलाई समेट्ने योजना सहित अभियान थालेको हो ।






