लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ को लागि आवेदन आव्हान गरेको छ ।
पुरस्कार छनोट समितिले एक सूचना जारी गर्दै पुरस्कारको लागि आफ्नो आवेदन पठाउन वा अरुलाई सिफारिश गर्न अनुरोध गरेको छ ।
उक्त पुरस्कारमा सहभागी हुन सन् २०२१ जुन महिनाको १ तारिखदेखि सन् २०२२ मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफुले लेखेको बाइलाइनसहितको एक लेख रचना, समाचार, फिचर आदि लगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिंक वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति जुन ३० तारिख अपरान्ह ५ बजेभित्र पठाउन पनि आग्रह गर्दै तत्पश्चात आएका आवेदनलाई पुरस्कारका लागि समावेश नगरिने समेत स्पष्ट पारिएको छ ।
सञ्चारकर्मीले आफूले लेखेको सामग्री आफै पठाउन वा अरु कसैले सिफारिश गरिदिन समेत सक्नेछन् । विशेषगरी बेलायतका नेपालीहरु, भूपू गोर्खा तथा गैरआवासीय नेपालीहरुको जनजीवनलगायत उनीहरुका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख तथा समाचारहरुलाई पुरस्कार छनोटमा प्राथमिकता दिइने पुरस्कार छनोट समितिले जानकारी दिएको छ ।
त्यस्तै, नेपाल र नेपालीहरुका लागि उपयोगी हुने बेलायतका अनुभव र अभ्यासका बारेमा प्रकाशित सामग्रीलाई पनि प्राथमिकता दिईने सुचनामा उल्लेख गरिएको छ ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्ने उद्धेश्यले स्थापित यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५ सय दुई पाउण्ड नगद र सम्मानपत्र वा संयुक्त रुपमा दुई जनालाई जनही २ सय ५१ पाउण्ड नगद र सम्मापत्रसहित प्रदान गरिन्छ ।
यस वर्षको पुरस्कार आगामी जुलाई १० मा लन्डनमा हुने नेपाल पत्रकार महासंघ यूकेको दशौँ वार्षिकोत्सव समारोहमा वितरण गरिने शाखाले जनाएको छ । पुरस्कार छनोटका लागि शाखाका सल्लाहकार समेत रहेका वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वमा युनिभर्सिटी कलेज लन्डन (युसिएल) का प्राध्यापक डा तेजेन्द्र फेराली, वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओम गौतम, वरिष्ठ सञ्चारकर्मी संगीता मरहठ्ठा र त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक डा सुमाया राई सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरिसकिएको छ ।
यस्तो छ सुचना :
‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ का लागि आवेदन/ सिफारिश पठाउने सूचना
नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा प्रदान गरिने ‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार’ को लागि निम्नानुसारको समयसिमाभित्र आफ्नो आवेदन पठाउन वा अरु कसैको सामग्री सिफारिश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई खोजमूलक पत्रकारिताका लागि प्रोत्साहित गर्ने उद्धेश्यले स्थापित यो पुरस्कार हरेक वर्ष उत्कृष्ट समाचार लेख्ने एकजना पत्रकारलाई ५ सय दुई पाउण्ड नगद र सम्मानपत्र वा संयुक्त रुपमा दुई जनालाई जनही २ सय ५१ पाउण्ड नगद र सम्मापत्रसहित प्रदान गरिनेछ।
पुरस्कारका लागि आवेदन गर्ने आधारहरुः
१. बेलायतभित्र वा बाहिरबाट सञ्चालित वा प्रकाशित सञ्चारगृहमार्फत् नेपाली वा अंग्रेजी भाषामा कम्तीमा ३ वर्ष लगातार काम गरेको अनुभवसहितका बेलायतमा रहेका नेपाली वा नेपाली मूलका पत्रकारहरुले यस पुरस्कारका लागि आवेदन गर्न सक्नेछन् ।
२. पुरस्कारमा सहभागी हुन चाहने पत्रकारहरुले सन् २०२१ जुन महिनाको १ तारिखदेखि सन् २०२२ मे महिनाको ३१ तारिखसम्मको अवधिमा आफूद्वारा लिखित (एक वटा मात्र) (बाइलाइनसहित) लेखरचना, समाचार, फिचर आदिलगायत श्रव्यदृश्य सामग्रीको खुल्ने लिंक वा प्रकाशित सामग्रीको स्क्यान गरिएको प्रति सन् २०२२ जुन ३० तारिख अपरान्ह ५ बजेभित्र info@fnjuk.org मा पठाउनुपर्नेछ। उक्त अवधिपछि प्राप्त सामग्रीलाई पुरस्कारका लागि समावेश गरिनेछैन।
३. बेलायतका नेपालीहरु, भूपू गोर्खा तथा गैरआवासीय नेपालीहरुको जनजीवनलगायत उनीहरुका समस्या तथा हकहितका बारेमा प्रकाशित, प्रसारित खोजमूलक सामग्री, लेख तथा समाचारहरुलाई पुरस्कार छनोटमा प्राथमिकता दिइनेछ। त्यस्तै, नेपाल र नेपालीहरुका लागि उपयोगी हुने बेलायतका अनुभव र अभ्यासका बारेमा प्रकाशित सामग्रीलाई पनि प्राथमिकता दिइनेछ।
४. सञ्चारकर्मीले आफूले लेखेको सामग्री आफै पठाउन वा अरु कसैले सिफारिश गरिदिन सक्नेछन्। तर सिफारिशकर्ताले आफूले सिफारिश गरेको व्यक्ति र उनीद्वारा प्रकाशित समाचारको लिंक वा स्क्यानिङ प्रति माथि उल्लेखित इमेल ठेगानामा तोकिएको समयसीमाभित्र पठाउनुपर्नेछ।
४. स्वार्थ बाझिने कारणले छनौट समितिमा रहेका व्यक्तिहरुले यस पुरस्कारमा सहभागी हुन पाउने छैनन् ।
५. पुरस्कार नेपाल पत्रकार महासंघ यूकेको वार्षिकोत्सव समारोहमा वितरण गरिनेछ ।
६ पुरस्कारका सम्बन्धमा पुरस्कार छनोट समितिको निणर्य अन्तिम हुनेछ।
५ जुन २०२२
‘एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२’ छनोट समिति






