राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस बिपीवीच तालमेल, एकीकरण हुने

काठमाडौँ- एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस बिपीबीच चुनावी गठबन्धन भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुवै पार्टीले आगामी केन्द्र र प्रदेशको निर्वाचनमा कार्यगत एकतासँगै निर्वाचनपछि पार्टी एकिकरण गर्ने जानकारी दिएका छन् ।

राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्राध्यक्षको रुपमा राजसंस्था हुनुपर्नेमा जोड दिए । ‘हाम्रो नेपालमा भावना एकता गर्ने एउटा मात्रै राजसंस्था हो’, उनले भने, ‘जनताद्वारा निर्मित संविधानको परिधिमा रहेर राष्ट्राध्यक्षको रुपमा राजसंस्था हुनुपर्छ।’

लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको वैकल्पिक शक्तिको रुपमा राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको गठबन्धन बनेको बताउँदै डा.लोहनीले आगामी निर्वाचनमा जनताले उचित स्थानमा ल्याउने दाबी गरे ।

‘हिजो आज बनेका गठबन्धनहरु केवल सत्ताको लागि हुन, प्रमुख राजनीतिक दलहरुको आँखामा सत्ता छ, शक्ति छ, एमाले, कांग्रेस र माओवादीहरु देशका लागि मात्रै फरक कित्तामा उभिने हुन्,’, उनले भने, ‘भष्टाचार गर्नुपर्दा मिलेर खान्छन्, भष्टाचार र लम्पसारवादले मुलुक डुबेको छ, हामी यो परिपार्टीको अन्त्य गर्नको लागि जनताको बीचमा आएका छौँ।’

त्यस्तै नेपाली कांग्रेस बिपीका सभापति हरिबोल भट्टराईले विकसित लोकतान्त्रिक र बाम गठबन्धनको कुनै औचित्य नरहेको जिकिर गरे ।

‘वाम एकताले मुलुक भासिन्छ, लोकतान्त्रिक गठबन्धन आफैँमा अपाकृतिक छ, नयाँ शक्तिदेखि प्रजातन्त्रको घाँटी निमोठ्नेहरु एक भएर लोकतान्त्रिक गठबन्धन बनाएका छन्’, उनले भने, ‘यस्तो स्थितिमा कसरी देशले निकास पाउँछ? प्रष्ट रुपमै वर्तमान राजीनितको विकसित रुप सत्ता र शक्तिको लागि हो ।’

एमाले, कांग्रेस र माओवादीलाई लम्पसारवादको हलिया भएको आरोप लगाउँदै सभापति भट्टराईले बाहिरी मुलुकमा आवश्यक शासन व्यवस्था नेपालमा परीक्षण गरेर उचित भए आफ्नो देशमा लागू गर्ने नत्र नेपाललाई प्रयोगशाला बनाउने काममा तत्लिन रहेको दाबी गरे ।

विधि र सिद्धान्त अनुसार राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा आउनु परेको भन्दै भट्टराईले निकट समयमै यूवा पलायनबाट रोक्ने, मुलुकको आर्थिक समृद्धि गर्नेजस्ता एजेण्डाको साथ एराप्रपा राष्ट्रवादी र नेपाली काँग्रेस विपीबीच कार्यगत एकता गरिएको बताए ।

सफा नियत र उपयूक्त व्यबस्थापन आजको आवश्यकता रहेको भन्दै भट्टराईले हिन्दु धर्मको रक्षा, भष्टाचारीहरुलाई कारबाही, स्वदेशमै रोजगार लगायतका मुद्दामा एकमत रहेका पार्टीहरुबीचको तालमेल मुलुकको लागि अपरिहार्य रहेको जिकिर गरे ।