लन्डन । सन् २०२१ को ज्यानुअरी महिनामा युरोपमा जन्मदर अघिल्ला वर्षहरूका तुलनामा १४ प्रतिशतले घटेको पाइएको छ। त्यसको सम्भाव्य कारण चाहिँ कोभिड–१९ को पहिलो लहर हुनसक्ने एउटा अध्ययनले निष्कर्ष निकालेको छ।
जनवरी २०२१ भनेको कोभिडसम्बन्धी लकडाउनहरू लागू भएको ९ देखि १० महिनापछिको समय हो। उक्त अध्ययनले लामो लकडाउनहरूका बेला कम गर्भ रहेको देखाउँछ।
जुनजुन देशमा स्वास्थ्य प्रणालीहरूमा चाप परेको थियो ती देशमा त्यस्तो गिरावट देखियो।
लिथुआनिया तथा रुमेनियामा जन्मदर सबभन्दा धेरै क्रमशः २८ र २३ प्रतिशत घटेको पाइएको छ । जबकि कुनै पनि लकडाउन नगरिएको स्वीडनमा चाहिँ जन्मदर स्वाभाविक नै रहेको ह्युमन रिप्रोडक्सन नामक जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षले देखाएको छ।
अनुसन्धानकर्ताहरू भन्छन्– यी निचोडले ‘खासगरी पाका उमेरका मानिसको धेरै जनसङ्ख्या हुँदै गरेका युरोप’ जस्ता क्षेत्रमा दीर्घकालीन परिणामहरू ल्याउनसक्छ।
‘लकडाउन जति लामो भयो उति नै गर्भवती कम भएको पाइएको छ। महामारीले गम्भीर असर नपुरयाएका ठाउँमा पनि त्यस्तै देखियो’, लोजान युनिभर्सिटी हस्पिटलकी सोनोग्राफर तथा अध्ययनकर्ता डा. लियो पोमारको भनाइ छ- ‘हामीलाई के लागेको छ भने दम्पतीहरूमाझ कोभिड–१९ को पहिलो लहरका बेला त्यतिखेर रहेको स्वास्थ्य तथा सामाजिक संकटबारेको त्रासले नौ महिनापछि जीवित शिशुको जन्मदर घटाउन योगदान गरयो।’
उक्त अध्ययन रिपोर्टका अनुसार सामाजिक दूरी, भाइरसको त्रास अनि सामाजिक र आर्थिक संकटले ‘दम्पतीहरूलाई बच्चा जन्माउने निर्णय पछि सार्न अप्रत्यक्ष दबाव भयो ।’
इङ्ग्ल्यान्ड र वेल्समा सन् २०२१ को ज्यानुअरीमा सन् २०१८ र २०१९ को ज्यानुअरीको तुलनामा १३ प्रतिशत कम जन्मदर भयो। स्कटल्यान्डमा त्यो अनुपात १४ प्रतिशतले घट्यो।
फ्रान्स र स्पेनमा क्रमशः १४ र २३ प्रतिशत गिरावट भएको छ ।
अध्ययनअनुसार सन् २०२१ को मार्च महिनासम्म आइपुग्दा जन्मदर फेरि महामारी पहिलाकै अवधिमा जत्तिकै भयो। त्यो भनेको लकडाउन खुलेको ९–१० महिनाको अवधिसँग मिल्छ।
तर त्यसो हुँदा पनि ज्यानुअरीमा घटेको जन्मदरको क्षतिपूर्ति भने हुन नसकेको अध्ययनकर्ताहरूले जनाएका छन्।






