नेपाल फेस्टिबल सिड्नी-२०२२ नजिकिँदै,के के भयो तैयारी ?

सिड्नी । आगामी नोभेम्बर १९ तारिख शनिवारका दिन सिड्नी स्थित बरुड पार्कमा हुने ‘नेपाल फेस्टिबल सिड्नी-२०२२’ नजिकिए सगैं अहिलेसम्म कार्यक्रम तैयारीका विषयमा जानकारी गराईएको छ । नेपाल फेस्टिबल सिड्नी २०२२ बरुड पार्कमा आयोजना गर्ने घोषणा गरिए सगैं निरन्तर तैयारी र प्रचारप्रसारको काम तीब्र रुपमा अगाडी बढेको छ ।

यसै अन्तर्गत फेस्टिबल घोषणा भएपश्चात आजसम्म भएको कार्यप्रगतीहरुको बारेमा जानकारी दिने उद्धेश्यले गरिएको कम्युनिटी कन्सल्टिङ दोश्रो चरणको कार्यक्रम १५ अक्टोबरमा पारामाटामा रहेको नेपाल फेस्टिबलको टाईटल स्पोन्सर क्वीन्सफोर्ड कलेजमा सम्पन्न भएको छ ।

एनआरएनए उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य समिति सयोंजक देव गुरुङको सयोंजकत्वमा मुल समारोह समिति र अन्य विभिन्न उपसमितिहरु निर्माण गरी विभिन्न कामहरु बाँडफाँड गरिए बमोजिम उक्त समिति मार्फत भईरहेका कार्य विवरण र तैयारीका विषयमा जानकारी सहित समिक्षा गर्दै अन्तरक्रिया गर्ने उद्धेश्यले दोश्रो कम्युनिटी कन्सल्टिङ  कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल फेस्टिबल सिड्नीको मुख्य प्रायोजक क्वीन्सफोर्ड कलेजको प्रागंणमा भएको कार्यक्रममा बोल्दै एनआरएनए उपाध्यक्ष गुरुङले फेस्टिबल घोषणा भएदेखि अहिलेसम्म भएका विभिन्न कार्यप्रगतीहरुको बारेमा जानकारी गराएका थिए । उनले फेस्टिबललाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्न आफुले कार्य विभाजन गरेर विभिन्न समिति तथा उपसमिति निर्माण गरी सबैजनालाई आ-आफ्नो जिम्मेवारी दिएको र सबैलाई आवश्यक पर्ने निर्देशन तथा सुझाव सल्लाह दिईरहेको बताए ।

नेपाल फेस्टिबल सिड्नी २०२२ सम्पन्न गर्न एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल स्टल, न्यू साउथ वेल्स राज्य परिषद उपसयोंजक सुकृति भट्ट नेपाल हाउस, न्यू साउथ वेल्स राज्य परिषद सचिव विनोद कुँवर आइ टि, कोषाध्यक्ष भावना श्रेष्ठ  व्यवस्थापन, ओसेनिया महिला संयोजक उषा बारीया पोखरेल सांस्कृतिक, एनआरएनए अस्ट्रेलिया सचिव सन्ध्या शाह  परेड व्यवस्थापनको जिम्मेवारी पाएका छन ।

कार्यक्रममा फेस्टिबलका व्यवस्थापन तथा स्टल सयोंजक एनआरएनए कोषाध्यक्ष पोखरेल र नेपाल हाउस तर्फ उपसयोंजक भट्टले नेपाल हाउसमा नेपालका विभिन्न क्षेत्रमा रहेका विभिन्न जातजातिका भेषभुषा तथा नेपाल झल्काउने विषयहरु समेटिने र अहिलेसम्मको कार्यप्रगती समेत प्रस्तुत गरेका थिए । संस्कृति सयोंजक पोखरेलले संस्कृति सम्बन्धी जानकारी गराएकी थिईन् भने सचिव शाहले परेडको बारेमा जानकारी गराएकी थिईन् ।

सोही अवसरमा कम्युनिटी कन्सल्टिङ कार्क्रम भन्दा अगाडि सास्कृतिक प्रस्तुतिका लागि अडिसन समेत गरिएको थियो । सहभागीहरुले आफ्नो नृत्य एवम् गायनकला प्रस्तुत गर्न आएका थिए भने न्यू -कास्चल देखि समेत नृत्यका लागि सहभागी भएको देख्दा आफुलाई निकै उत्साहित भएको सांस्कृतिक संयोजक उषा बारीया पोखरेल बताईन् ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले आफु अहिलेसम्म न्यू साउथ वेल्स मै बसेर अन्य एससीसीहरुलाई हेर्दा सबैले निकै नै राम्रो काम गरेको बताए । उनले २०१८ मा न्यू साउथ वेल्सले आफुले पनि कार्यक्रम गरेको भन्दै आफ्ना अनुभव सुनाए । त्यस्तै एनआरएनएका पूर्व अध्यक्ष महेन्द्र ओलीले तत्कालिन समयमा आफ्नो कार्यकालमा नेपाल फेस्टिबल गर्दा नेपालीसगैं विदेशीहरुलाई समेत नेपाली मौलिकता देखाउने उद्धेश्य राखेर वृहत कार्यक्रम सम्पन्न गरेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा राजदुतावासबाट प्रतिनिधित्व गर्दै तृतीय सचिव यादव कोईरालाले नेपाल फेस्टिबलले नेपाली कला संस्कृतिलाई प्रवद्र्धन गर्न निकै महत्वपूर्ण भुमिका खेलेको भन्दै यसको कार्यक्रमको लागि सदैव एनआरएनएसगं मिलेर काम गर्ने बताए । एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद कोषाध्यक्ष भावना श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।कार्यक्रममा तमु समाज सिड्नीका अध्यक्ष युब राज गुरुङ , ब्ल्याक टाउन नेपलिज कम्युनिटी अध्यक्ष सिताराम घिमिरे , नेपाली पाठशाला अध्यक्ष बिष्णु घिमिरे , नेपलिज अष्ट्रेलियन एसोसिएअसन अध्यक्ष डा. मधु पुडासैनि , तराई समाज एन्टाका अध्यक्ष सुवशं शाह लगायत विभिन्न नेपाली समुदायका सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत आआफ्नो प्रतिक्रिया दिएका थिए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया,क्यानवेरा स्थित नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयको सयुंक्त सहकार्यमा नेपाल फेस्टिबल सिड्नी सम्पन्न हुँदैछ । नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, नेपाली मौलिक खानालाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवद्र्धन गर्ने र सिगों नेपाललाई अस्ट्रेलियामा देखाउने उद्धेश्य आयोजकले राखेको छ ।फेस्टिबलमा परेड, नेपाल हाउस, नेपाली मौलिक कला संस्कृति, गीतसंगीत, नृत्य, खानाका परिकार, हस्तकलाका सामान र नेपालीको व्यवसायसम्बन्धी जानकारी सहित अन्य विभिन्न नेपालका मौलिक पहिचानहरुलाई समेटिने छ ।