एनआरएनए अष्ट्रेलियाको चुनाव अनलाइन प्रणालीबाट हुने, यस्तो छ निर्वाचन तालिका

तक्दीर अधिकारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन अनलाइन प्रणालीबाट हुने भएको छ । कोभिड १९ महामारीको कारण अष्ट्रेलियाका कतिपय प्रान्तहरुमा लकडाउन समेत लगाइएको र संक्रमणले अवस्था सहज नभएको भन्दै निर्वाचन आयोगले अनलाइनबाट चुनाव गर्ने निर्णय गरेको हो ।

जुलाई ३१ मा हुने चुनावले २०२१–२३ को लागि नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचन आयोगले विहिबार अवेर राति चुनावको कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन अनलाइनबाटै गर्नै जनाएको हो । जसअनुसार जुलाई ३१ तारिख सिड्नी समयानुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भोट हाल्ने कार्यतालिका बनाइएको छ ।

जुलाई ८ तारिखमा प्रमाणिकरण भइसकेका सदस्यहरुको विवरण प्रकाशन गर्ने भनिएको छ । सदस्यमाथि दाबी विरोध जुलाई ९ देखि ११ तारिख मध्यरातसम्म गर्न पाइनेछ । विवादहरुको समाधानपछि १२ तारिखमा एनआरएनए अष्ट्रेलियाले सदस्य वा मतदाताहरुको अन्तिम सूची सार्वजनिक गर्ने तालिका सार्वजनिक गरेको छ ।

जुलाई १३ र १४ मध्यरातसम्म उम्मेद्वारी दर्ता, १५ गते उमेद्वारहरुको सूची प्रकाशन, १६ र १७ गते दाबी विरोध तथा १८ गते उम्मेद्वारहरुको नामावली प्रकाशन हुनेछ ।

जुलाई १९ र २० गते उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिन सक्नेछन् । भने अन्तिम नामावली २१ गते सार्वजनिक हुनेछ । जुलाई २५ आइतबार दिउसो २ बजे निर्वाचन सम्बन्धि विषयमा समुदायसंग छलफल गर्ने निर्वाचन आयोगले जनाएको छ ।

एनआरएनए अष्ट्रेलियाको सदस्यतामा यसपटक नयाँ रेकर्ड कायम भएको छ । आवेदनमा हालसम्मकै धेरै संख्या अर्थात १६ हजार ३ सय ८३ जनाले आवेदन दिएका छन् । अष्ट्रेलिया एनआरएनएमा सदस्यताको आधारमा अमेरिका पछिकै ठूलो बनेको छ । सदस्यता वितरणको क्रममा पेपल र गिफ्ट कार्डको प्रयोग गरिएपछि केही विवाद पनि भएको थियो । एनआरएनए अष्ट्रेलियाले ८ जुलाईमा सदस्यहरुको नामावली सार्वजनिक गर्ने भनेपनि हालसम्म वेभसाइटमा देखिएको छैन ।