सिड्नीको आरवी हेयर एन्ड व्युटी लन्जले पायो ‘विजनेस अचिभमेन्ट अवार्ड’

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा बढीरहेको नेपालीहरुका व्यवसायको विचमा उदाहरणीय व्यवसायको रुपमा सिड्नीको आरवी हेयर एण्ड व्युटि लन्ज उत्कृष्ट ठहरिएको छ । स्थानीय सरकार मार्फत हरेक बर्ष प्रदान हुने विजनेस अचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित हुँदै लन्ज उत्कृष्ट व्यवसायको सम्मान पाएको हो । स्थानीय सांसद मार्क कौरले पसलमै आएर उक्त अवार्ड प्रदान गरेको पसलका सञ्चालक सन्देश राजभण्डारीले जानकारी दिए । स्थानीय सरकारले हरेक बर्ष यस प्रकारको अवार्ड प्रदान गर्दै आएकोे छ । यस अघि पनि यस व्यवसाय उत्कृष्ट व्यवसायहरुको छनौट सूचीमा परेको थियो ।

२०१३ मा अष्ट्रेलिया छिरेका सन्देश र मौसमी दम्पतीले २०१८ मा यस व्यवसाय शुरु गरेका हुन् । उनीहरु दुवैले यस व्यवसाय सँग सम्बन्धित विषय नै अध्ययन गरेका थिए । विचमा केही समय अन्तै नोकरी समेत गरे । त्यसपछि उनीहरुले मानिसको कपाल तथा सौन्दर्य सम्बन्धी व्यवसाय गर्ने सोँच बनाएर सरकारको मापदण्ड अनुसार आफ्नै व्यवसाय चलाउने निधो गरेर अघि बढे । हाल उनीहरुले आफुहरु सहित ८ जनालाई यसमा रोजगारी समेत दिएका छन् । जसमा ग्राहकहरु सन्तुष्ट भएको देख्दा आफुहरुलाई थप हौसला बढ्ने उनले सुनाए ।

अवार्ड पाइसकेपछि उनले आफ्नो व्यवसायलाई अझै ग्राहकमैत्री र गुणस्तरीय सेवा दिने अठौट गरेका छन् । “ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना सदैव रहनेछ” उनले भने, “अझ यस प्रकारको अवार्ड हामीलाई धेरै हौसला मिलेको छ, राम्रो गर्न खोज्नेहरुलाई राम्रै हुने रहेछ भन्ने पनि प्रमाणित भएको छ।”
यस अघि विशेष समारोह गरेरै सम्मान तथा अवार्ड प्रदान गरिने भएपनि यस पटक पसलमै आएर अवार्ड दिइएको हो । कोरोना भाइरस महामारीको कारण पनि भव्य समारोह मार्फत गरिने अवार्डको कार्र्यक्रम प्रभावित बनेको हो ।

तनहुँको व्यास नगरपालिका ३ दमौली घर भएका सन्देश र मौसमीको जोडी २०१३ मा अष्ट्रेलिया आएका थिए । यहाँ रहँदा आफ्नो व्यवसाय मात्र नभएर विभिन्न सामुदायिक संघसंस्था मार्फत उनीहरुले सामाजिक कार्य समेत गर्दै आइरहेका छन् ।