मोरङ्को सिंहवाहिनी माबिलाइ प्रवासमा रहेका नेपालीहरुद्धारा लाखौ मुल्यका कम्प्युटर सामग्रीहरु प्रदान

तक्दीर अधिकारी, सिड्नी ।
आफुले अध्ययन गरी ज्ञान आर्जन गरेका विद्यालयहरुमा रोजगारी तथा अध्ययनको शिलशिलामा प्रवासमा रहेका नेपाली भुतपुर्व विद्यार्थीहरुले विद्यालय सहयोग गरेका छन् ।

प्रवासमा रहेका नेपाली युवाहरुको संक्रियतामा मोरङकोे पथरीशनिश्चरे नगरपालिका ९ रिमुवामा रहेको सिंहवाहिनी माध्यामिक विद्यालयलाइ १० थान कम्प्युटर, २ थान कम्प्युटर टेवल, १० थान स्टिल कुर्सी, एक बर्षको निम्ती ६० एमबिपिएसको इन्टरनेट, कम्प्युटरको निम्ती आवश्यक पर्ने इलेक्ट्रिक वायरिङ्ग तथा ३० मिटर कार्पेट प्रदान गरिएको अष्ट्रेलियामा रहेका अभियानकर्ता लिला सुवेदीले जानकारी दिए ।

उक्त सामग्रीहरुको मुल्य ७ लाख ४४ हजार ५ सय रुपैया परेको छ । शुरुमा सामग्री खरिद गर्नको निम्ती टेन्डर प्रक्रियामा गएर सबैभन्दा कम मुल्यमा काम गर्नेमध्येबाट पुर्वेली इन्टरप्राइजेज काठमाण्डौलाइ छनौट गरि खरिदद प्रक्रियामा गइएको थियो ।
“हामीले अध्ययन गर्ने समयमा विद्यालयहरुमा धेरै पुर्वाधारहरुको अभाव थियो, अभावका विच हामीले दुख गरेर पढ्यौ,” उनले भने, “अबका विद्यार्थीहरुले त्यो समस्या भोग्न नपरोस भन्ने उद्धेश्य सहित सहयोग अभियान चलाएका हौँ”। उनले यस अभियान शुरु भएको केही दिनमै   अष्ट्रेलिया, अमेरिका, बेलायत ,दुबइ  लगायत अन्य देश बिदेशमा रहेका नेपालीहरु र संघ सस्थाहरुले सहयोग गरेको र सुरुवातको केही दिनमै कार्यक्रम सफल भएको बताए ।

“विद्यालयहरुमा हुने समस्या आफ्नै समस्या ठानेर सहयोगको अभियान चलाएका छौँ,” उनले थपे, “विद्यालयहरुका पुर्वाधार अभावका समस्यामा हामीले सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ” । सुवेदीले काम गर्नको निम्ती इच्छाशक्ति आवश्यक पर्ने भन्दै सबै जिम्मेवारी सामाजिक सञ्जालको माध्यमबाटै पुरा गरिएको अनुभव सुनाए ।

सहयोग गर्नेहरुमा अष्ट्रेलिया,अमेरिका लगायतका नेपालीहरु रहेका छन् । यो अभियानमा हालसम्म करिब ८ हजार डलर संकलन भएको उनले बताए । अभियानबाट संकलित नेपाली ७ लाख ४८ हजार ६ सय २१ रुपैया मध्ये ४ हजार १ सय २१ रुपैया बचेको सुवेदीले जानकारी दिए । यस प्रकारका सहयोगात्मक अभियानहरु अन्य विद्यालयहरुमा पनि सञ्चालन गरिने बताइएकोे छ ।