नरवणे बने नेपाली सेनाका १८ औं मानार्थ महारथी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएकी हुन्। नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

नरवणेलाई तरबार पनि उपहार दिइएको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायत दुबै देशका अन्य अधिकारीहरू उपस्थित थिए।

नेपाल र भारतबीच एक-अर्का सेना प्रमुखलाई मानार्थ महारथी दिने चलन सात दशकदेखि जारी छ। गत जनवरीमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको महारथीको पदवी दिएका थिए।  भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए ।