हामी बीचको एकता हुन जरुरी छ : महासचिव पोखरेल

ishwor pokhrelडडेल्धुरा- नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी भएको बताएका छन् ।

बझाङ र बैतडी जिल्लाका कमिटी भेलाका लागि जाने क्रममा डडेल्धुरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा महासचिव पोखे्रलले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी भएको बताउनुभयो ।

हामीले संविधान जारी गरेका हौं तर कसैको केही बिगार गरेका होइनौँ भन्दै पोख्रेलले हामीले सविधान जारी गर्दा नाकाबन्दी गरेर नेपालीलाई दण्डित गर्ने काम गरेको आरोप लगाउनुभयो ।

भारतको चाहनाअनुसार संविधान जारी नभएका कारणले उसले नाकाबन्दी गरेर दुःख दिएको आरोप लगाउँदै महासचिव पोख्रेलले भन्नुभयो, “हामीले आफ्नो स्वाभिमानका लागि संविधान जारी गर्दा अरूले टाउको दुखाउनुपर्ने र दुःख दिनुपर्ने कुनै कारण छैन ।”

राष्ट्रिय एकता हुन जरुरी रहेको बताउँदै महासचिवले हामी बीचको एकता, राष्ट्रियता स्वाभिमान र सर्वपक्षीय समीकरण गरेर सबैले एकजुट भएर आगाडि जानुपर्नेमा जोड दिनुभयो । नाकामा सहजता ल्याउन छिमेकीसँगको सम्बन्ध सन्तुलित हुनुपर्ने महासचिव पोख्रेलले बताउनुभयो ।