मध्यरातमा फर्किए मधेसी नेता, महतो र यादव आएनन्

morcha1काठमाडौं- भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चारमध्ये दुई नेता मध्यरातमा फर्किएका छन् ।

उपेन्द्र यादव र महन्थ ठाकुर राति १२ बजे जेट एयरबाट फर्के पनि राजेन्द्र महतो र महेन्द्र राय यादव उपचारको लागि भन्दै उतै बसेका छन् । फर्केका नेताले मधेसमा जारी आन्दोलनको बल सरकारको कोर्टमा रहेको बताएका छन्।

सरकारले मधेस आन्दोलनका ११ बुँदे मागलाई जति चाँडो सम्बोधन गर्छ त्यति नै चाँडो समस्याले निकास पाउने उनीहरूको भनाइ थियो। चारदिने भारत भ्रमण सकेर मोर्चाका नेता बुधबार राति स्वदेश फर्केका छन्। उनीहरूले समस्या समाधानका लागि वार्तामा बस्न आफूहरू तयार रहेको पनि बताएका छन्।

आफूहरूले भारतसमक्ष कुनै माग राखेको नभई आफ्ना कुरामात्र राखेको उनीहरूले बताए । ठाकुरले केही दिनअघि भारत भ्रमण गरेका परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग राखेका विकल्पका बारेमा नयाँदिल्लीमा वार्ता भएको जानकारी दिए।