सभामुखको चुनावः सहमति भए २८, नभए २९ गते हुने

Subas-Nemwang-and-Onsari-Gh काठमाडौं २७ असोज । व्यवस्थापिका संसदले नयाँ सभामुख र उपसभामुख चुनावको प्रक्रिया सुरु भएको छ ।

व्यवस्थापिका संसदको बुधबार बसेको बैठकले सभामुख र उपसभामुख चयनको मिति तोकेको छ । सहमतिका आधारमा सभामुख र उपसभामुख चयनका लागि २८ गते चुनाव हुनेछ ।

सहमतिमा हुने निर्वाचनका लागि उमेदवारी दर्ताका लागि भोलि ११:३० देखि २ बजेसम्म तोकिएको छ । उम्मेदवारी दर्ताका लागि संसद भवनको ल्होत्से हल तोकिएको छ । सहमतिका आधारमा सभामुख र उपसभामुख निर्वाचित भएको घोषणा गर्ने समय भोलि नै दिनको ३ बजेका लागि तय गरिएको छ ।

दलहरुबीच सहमति नभए बहुमतीय आधारमा २९ गते चुनाव हुने भएको छ । असोज २९ गते ११:३० बजेदेखि २ बजेसम्म उम्मेदवारका प्रस्ताव दर्ता हुनेछन् ।

सभामुखको चुनाव ३ बजे र उपसभामुखको चुनाव ५ बजेका लागि तोकिएको छ । यसअघि बुधबार दिउँसो वर्तमान सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख वनसरी घर्तीले राजीनामा दिएका थिए ।

नयाँ संविधानमा संसद अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने व्यवस्था छ । संविधान जारी भएपछि संसद अधिवेशन १५ गते सुरु भएको थियो ।

को-को छन् दाबेदार ?

सत्ता साझेदार दलहरु एमाओवादीले सभामुख र राप्रपा नेपालले उपसभामुख लिने सहमति नजिक छन् ।

तर, प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति र सभामुख चयनमा सहमतिका आधारमा अघि बढ्ने प्रस्ताव राखेको छ । नभए सबै पदमा उम्मेदवारी दिने उसले निर्णय गरेको छ ।

सत्ता साझेदार दलहरुको भागवण्डा कायमै रहने हो भने निवर्तमान उपसभामुख वनसरी घर्ती सभामुख बन्ने सम्भावना छ । राप्रपा नेपालले उपसभामुख पाए कुन्ती शाहीलाई उम्मेदवार बनाउने तयारी गरेको छ