भारतलाई रिझाउन राष्ट्रपतिमा नयाँ प्रस्ताव, प्रचण्डलार्इ दिइयाे खिलराज रेग्मी र महन्थ ठाकुरको नाम

Bidhya, Amik. Khilran And Mahanta

काठमाडौं २७ असोज । नेपालमा नाकाबन्दी गरेर जनतालार्इ दु:ख दिइरहेकाे भारतलार्इ रीझाउनका लागि भन्दै राष्ट्रपति र सभामुखमा भारतले प्रस्ताव गरेका मान्छेकाे नाम प्रस्ताव गरीएकाे छ । दलहरूकाे सहमति एमाले वा एकीकृत नेकपा माअाेवादीले राष्ट्रपति र सभामुख बाड्ने भनिएपनि एकाएक नयाँ अनुसारकाे नाम सिफारीस भएकाे हाे ।

दलहरूकाे सहमति अनुसार दसैं सकिनासाथ हुन लागेको राष्ट्रपतिको निर्वाचनमा एमाले नेतृ विद्या भण्डारी र निवर्तमान सभामुख सुवासचन्द्र नेम्वाङ र एमाअाेवादीका अमिर शेरचनको नाम चर्चामा थियो । तर काँग्रेस नेताहरू प्रचण्डनिवास पुगेर भारत र मधेसलाई रिझाउन भन्दै नयाँ राष्ट्रपतिमा खिलराज रेग्मी र महन्थ ठाकुरको नामसमेत प्रस्ताव गरेका हुन् । ‘राष्ट्रपतिका लागि खिलराज र महन्थ ठाकुरको पनि नाम आएको छ,’  लाजिम्पाटमा बुधबार बिहान बसेको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले भने, एमालेले विद्या भण्डारीको नाम एक मतले अगाडि सारेको छ, मैलेचाँहि अमिक शेरचनजीको नाम प्रस्ताव गरेको छु ।’

कांग्रेस नेताहरु मंगलबार साँझ प्रचण्डनिवास लाजिम्पाटमा पुगेरै राष्ट्रपति र सभामुखमा सहमतिमै गरौं भनेकाे प्रचण्डले बैठकमा बताएकाे एक नेताले खुलासा गरे । ती नेताका अनुसार मंगलबार साँझ विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री सिटौलासहितका केही नेताहरु मंगलबार लाजिम्पाट पुगेका थिए ।

भारतलाई पनि ब्यालेन्समा राख्न र मधेसको भावनालाई समेट्न महन्थ ठाकुरको नाम आएको प्रचण्डले आफ्ना नेताहरुलाई ब्रिफिङ गरे । स्रोतहरुका अनुसार सत्तारुढ दलहरुको संयुक्त छलफलमा पनि मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम छलफलमा आएको छ ।

उप्रधानमन्त्री विजयकुमार गच्छदारलाई प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रपति एमालेबाट नभई नेपाली काँग्रेसबाट हुनुपर्ने प्रस्ताव राखिसकेका छन् । कांग्रेसलाई विश्वासमा लिने हो भने विद्या भण्डारीको साटो कांग्रेस नेतालाई राष्ट्रपति बनाउनुपर्ने गच्छदारको तर्क छ ।

उता एमाले उपाध्यक्ष विद्या भण्डारीले आफू निकटस्थहरुसँग प्रचण्डले आफूलाई राष्ट्रपतिमा समर्थन जनाइसकेको भन्दै हर्ष प्रकट गर्न थालेको स्रोतले बतायो ।

रेग्मी र ठाकुरको चर्चा किन ?

विगतमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दलहरुले संविधानसभाको दोस्रो चुनाव गर्नका लागि मन्त्रिपरिषद अध्यक्ष बनाएका थिए ।
सुरुमा प्रचण्डले हेटौंडा महाधिवेशनबाट प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका थिए । तर, चुनावमा नराम्रो हार व्यहोरेपछि एमाओवादीले उक्त निर्णयलाई गल्ती भएको भन्दै आएको छ ।

दलहरुको छलफलमा महन्थ ठाकुरको नाम भने भारतसँग जोडेर चर्चामा ल्याइएको छ । अहिले तराई मधेसमा भइरहेको आन्दोलनको ठाकुरले नेतृत्व गरिरहेका छन् । स्रोतले भन्यो-भारतसँगको सम्वन्ध सुधारका लागि ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव पनि आएको हो ।’
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाइरहेका बेला खिलराज रेग्मी भारतको वृन्दावन पुगेका थिए । त्यहाँ उनले नेपाल र भारतबीच सुमधुर सम्वन्ध रहेको प्रतिक्रिया दिएका थिए ।

स्राेतले अनलाइनखबरसँग भन्याे– ‘जसले प्रचण्डकाे मुखबाट प्रस्ताव गराएर खिलराजलार्इ मन्त्रिपरिषद अध्यक्ष बनाएकाे थियाे, उसैले अहिले खिलराज रेग्मीकाे नाम अगाडि सारेकाे छ, अब रेग्मी नै राष्ट्रपति बने भने अचम्म नमान्दा हुन्छ ।’

तुलनात्मक हिसाबले महन्थ ठाकुर सादगी नेता मानिन्छन् । रेग्मीका भने परिवारजन डीभी, ग्रीनकार्ड लिएर अमेरिकामा बसाेबास गर्दै अाएका छन् ।

बुधबार स्थायी कमिटीको बैठकपछि माओवादीका एक पदाधिकारीले अनलाइनखबरसँग भने- ‘राष्ट्रपतिमा के हुन्छ, भन्न सकिने अवस्था छैन, कांग्रेस पनि सहमति गरौं भनेर आएको छ, हाम्रा अध्यक्षले एमालेसँग कांग्रेसले ल्याएको प्रस्तावबारे कुरा गरौंला भन्नुभएको छ ।’

प्रचण्डले बैठकमा दिएको जानकारीअनुसार एमाओवादीले भने अमिक शेरचनको नाम लिएको छ, दलहरुसँग भएको छलफलमा आफूले शेरचनको नाम प्रस्ताव गरेको प्रचण्डले पार्टी स्थायी समितिको बैठकमा बुधबार प्रचण्डले बताए ।

एमाओवादीलाई सभामुख

एमाओवादीले उपराष्ट्रपति र सभामुख दावी गरेको छ । यसमा लगभग सहमति भएको प्रचण्डले पार्टी बैठकमा बताएका छन् । तर, अर्को सत्ता साझेदार फोरम लोकतान्त्रिकले पनि उपराष्ट्रपति आफ्नो दलले पाउने पर्ने दाबी पेश गरिसकेको छ ।

यस्तोमा एमाओवादीले सभामुख मात्र पाउने सम्भावना पनि रहेको स्रोतले बताएको छ । एमाओवादीले महासचिव कृष्णबहादुर महरालाई सभामुख बनाउने प्रस्ताव केही नेताले गरेका छन् ।

तर, पार्टीको भावी अध्यक्षका रुपमा समेत हेरिएका महरा अहिले सबै जिम्मेवारी छाडेर सभामुख बन्न तयार छैनन् । उनले उपप्रधान तथा गृहमन्त्री पाउनुपर्ने दाबी गरेका छन् । अन्यथा सभामुख नभई पार्टी महासचिवकै जिम्मेवारीलाई निरन्तरता दिने महराले बताएका छन् ।

वर्षमान पुनले भने आफ्नी पत्नी निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई सभामुख बनाउनुपर्ने अडान पार्टीमा राखेका छन् । केही नेताले भने सभामुखका लागि प्रमुख सचेतक गिरिराजमणि पोखरेलको नाम लिएका छन् । तर, बुधबार लाजिम्पाटमा बसेको बैठकमा कुनै सहमति जुटेको छैन । बैठक पुनः बस्ने बताइएको छ ।