भाईटीकाको भोलिपल्ट तास्मानियामा नेपाली चलचित्र आमा दोस्रो पटक प्रदर्शन हुँदै

तक्दीर अधिकारी
होवार्ट – तास्मानियामा नेपाली कथानक चलचित्र आमा पुनः प्रदर्शन गरिने भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो पटक तिहारको अवसरमा भाइटीकाको भोेलीपल्ट प्रदर्शन गरिने भएको हो ।  एएसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको विशेष पहलमा तास्मानियाको होवर्ट स्थित स्टेट सिनेमामा उक्त चलचित्र प्रदर्शन हुँदैछ ।कोरोनाभाइरस महामारीको कारण विश्वकै चलचित्र क्षेत्र ठप्प रहेकोे अवस्थामा तास्मानियामा आमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । अवस्था जे भएपनि चलचित्र क्षेत्र विस्तारै उठ्ने क्रममा रहेको सन्देश दिने गरी फिल्म प्रदर्शन गर्न लागिएको इन्टरटेनमेन्टका निर्देशक तथा चलचित्रका सहनिर्माता समेत रहेका सन्तोष अधिकारीले बताए । नोभेम्बर १७ गते स्टेट सिनेमा हलमा साँझ ६ बजे चलचित्र शुरु हुने छ । हलमा २ सय जनाको सिट रहने छ जहाँ सामाजिक दूरी कायम गरी ५० जना मात्र राखिनेछ । महामारीको कारण निराश भएका दर्शकलाई यसले सकारात्मक बल प्रदान गर्ने अधिकारीकोे भनाई छ ।

दिपेन्द्र के खनालको निर्देशन रहेको उक्त चलचित्रको निर्माता शर्मिला पाण्डे हुन भने सहनिर्माता सन्तोष अधिकारी हुन् । आमाले नेपाली समुदायमा आमाले गर्ने संघर्ष देखाइएको छ । जसमा एक बिरामी बाबूको उपचार गर्न पैसाको अभाव हुँदा छोरीले निभाएको भूमिका र छोराले जिम्मेवारीबाट भाग्न खोजेको विषय देखिन्छ । अन्तिममा पिताको निधनमा छोरीले नै किरिया गर्छिन । यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोेरीको भुमिकामा छिन् । त्यस्तै सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छिन् ।