काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसमा बाँडेर खानकै लागि सरकारमा जानुको औचित्य नरहेको बताउनुभएको छ ।
पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको छैटौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो– “एकैसाथ बाँडीचुँडी खाउँ, सरकारमा जाउँ भन्ने हो भने केही छैन, होइन भने हामीबीच सहकार्यको आवश्यकता छ ।”
‘जिपी अध्ययन केन्द्र’ ले आयोजना गरेको ‘गिरिजाबाबुको सहकार्यको नीति र अबको राजनीति’ विषयक विचार गोष्ठी शुभारम्भ गर्दै उहाँले कांग्रेसको महाधिवशेन उद्घाटनमा आएका विदेशी प्रतिनिधिले यहाँका राजनीतिक दलको सहकार्य देखेर प्रशंसा गरेको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।
शान्ति स्थापना, गणतन्त्र घोषणा र संविधान निर्माणमा गिरिजाबाबुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सभापति देउवाले संविधान बने पनि कार्यान्वयनमा समस्या आएका अवस्थामा राजनीतिक दलबीच सहकार्य नभए स्थायी शान्ति नहुने उल्लेख गर्नुभयो ।
उहाँले देशको प्राकृतिक सम्पदाको सदुपयोग गर्न, जलस्रोत तथा पर्यटन क्षेत्रको विकास र औद्योगिक क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न राजनीतिक दलबीच सहकार्यको अवश्यकता भएको बताउनुभयो ।






