बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नु भएको छ ।
प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आजदेखि यही चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा यहाँ आइपुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा महेशकुमार मास्के, परराष्ट्र मन्त्रालय तथा दूतावासका उच्चपदस्थ अधिकारीले स्वागत गर्नु भएको थियो ।
प्रधानमन्त्री ओली काठमाडौँबाट बिहान ११ बजे चीनका लागि प्रस्थान गरी पाँच घण्टाको उडानपछि स्थानीय समयअनुसार साँझ ६:२० मिनेटमा बेइजिङ आइपुग्नु भएको हो । प्रधानमन्त्री ओलीलगायतको नेपाली भ्रमण टोली हिमालय एअरलाइन्सको विमानबाट बेइजिङ आइपुगेको हो ।







