एनआरएनए अष्ट्रेलियाको सदस्यतामा नयाँ कीर्तिमान: ४८ घण्टामा मात्रै करिब ५ हजारको आवेदन

तक्दीर अधिकारी
सिड्नी । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको सदस्यताको लागि दिने आवेदनमा नयाँ रेकर्ड कायम भएको छ ।

आगामी जुलाई ३१ मा हुन गइरहेको अधिवेशन लक्षित गरी खुलाइएको सदस्यताको निम्ती आवेदनमा हालसम्मकै धेरै संख्या अर्थात १६ हजार ३ सय ८३ जनाले आवेदन दिएका हुन् । एनआरएनए स्रोतका अनुसार पछिल्लो ४८ घण्टामा मात्रै ५ हजारभन्दा बढीको आवेदन परेको छ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलका अनुसार उक्त आवेदकमध्ये १४ हजार ५ सय १५ रजिष्टर्ड सदस्य हुन् भने १५ सय ६७ आजिवन सदस्य तथा ३ सय १ जना एसोसियट सदस्य छन् । यद्यपि विद्यार्थी भिषाका एसोसियट सदस्यलाई भने मताधिकार रहने छैन ।

यसअघि मे १० देखि जुन १० तारिख सम्म एक महिनाको लागि सदस्यता आह्वान गरिएको थियो । तर उक्त अवधिमा कम मात्रामा मात्रै आवेदन पेश भएको कारण दुई हप्ता समय थपिएको थियो  तर पछिल्लो ४८ घण्टामा भने नाटकीय रुपमा ५ हजार बढीले आवेदन दिए ।

उक्त अवधिमा आवेदन दिन चाहनेहरुको लागि पेपल र गिफ्ट कार्डबाट भुक्तानी लिने व्यवस्था मिलाइएको थियो । उक्त कदमको समावेशी समूहले विरोध गरेपनि एनसीसीले सम्बोधन गरेको थिएन ।

अन्तिम समयमा पेपलबाट पनि शुल्क तिर्ने व्यवस्था गरिएको भन्दै यसबाट शुल्क तिर्दा तिर्नेको वास्तविक पहिचान पत्ता लगाउन झण्झट हुने भएकाले, एकै व्यक्तिले धेरै जनाको शुल्क तिरेर सदस्यता बनाउन सक्ने अवस्था समेत आएको भन्दै आलोचना भएको थियो ।

यता अध्यक्ष कंडेलले भने पेपल  भुक्तानी लिने व्यवस्थाआईसीसी  विधानमा  राखिएको र अहिले उक्त व्यवस्था गर्दा आईसीसीसँग समन्वय समेत गरिएको बताए । विधान बाँझिएको कारण पनि केही विवादका कुराहरु बाहिर प्रकट भएपनि एनसीसीमा त्यस्तो कुनै समस्या नभएको उनले बताए ।

जुन २१ तारिख बिहान ८ बजेसम्म १९८० नयाँ आवेदक रहेका थिए । तर आवेदनको समयसिमा सकिनै लाग्दासम्म १२ हजार ५ सय २५ नयाँ आवेदन परेको छ ।

एनआरएनए कोषाध्यक्ष अनिल पोखरेलका काअनुसार सो संख्यामा परेको आवेदनहरु प्रमाणीकरण गर्ने क्रम चलिरहेको छ । हालसम्म ३६ सय बढीको सदस्यता स्विकृत भइसकेको छ । उनले एक हप्तासम्ममा सबैको स्वीकृत भइसक्ने बताए । पोखरेलका अनुसार अधिकांशहरुको सही डकुमेन्ट नै अपलोड भएको भन्दै सानो संख्यामा मात्र अस्वीकृत हुने अधिकांश स्वीकृत नै हुने बताए ।

उनले पेपल र गिफ्ट कार्डबाट शुल्क तिर्ने व्यवस्थाले एकै व्यक्तिले धेरै जनाको फर्म भर्ने सम्भावना नहुने बताए । कुनै व्यक्तिले आफ्नो आइडी लगिन गराएर अरु कसैलाई पैसा तिराउँछ भने त्यसको जिम्मा एनआरएनएले लिन नसक्ने उनले बताए । । उनले विधानमै व्यवस्था भएको कारण पेपलको विरोध गर्नु आवश्यक नरहेको बताए ।

एनआरएनए स्रोतका अनुसार राज्य न्यू साउथ वेल्सवाट ६ हजार १ सय ५०, भिक्टोरिया राज्यवाट २ हजार १२९, क्विन्सल्याण्ड राज्यवाट १३ सय ९४, वेस्टर्न अष्ट्रेलियावाट ७ सय ५९, होवार्टवाट १३ सय ९१, साउथ अष्ट्रेलियावाट १८ सय ८९, नर्दन टेरोटरीवाट ११ सय ९, अष्ट्रेलियन क्यापिटल टेरोटरीवाट १३ सय ५७ जनाले आवेदन दिएका छन् ।

अघिल्लो चुनावका बेला पनि एकै रातमा ५ हजार सदस्यता बढेपछि अनियमितता भएको हुनसक्ने भन्दै विरोध भएको थियो ।

अध्यक्ष केशव कंडेलले ३१ जुलाईमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।यद्यपि अनलाइन वा भौतिक चुनाव के कसरी गर्ने भन्ने विषयको सर्वाधिकार निर्वाचन समितिलाई दिइएको उनको भनाई छ।