बेलायती महारानीलाई सहयोग माग्दै राष्ट्रपति भण्डारीको पत्र

लण्डन । पछिल्लो समय खोप कूटनीतिमा सक्रिय रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले महामारी नियन्त्रणमा सहयोग माग्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्र लेखेकी छिन् ।

विश्वभर फैलिएको कोभिड १९ को चपेटामा नेपाल परेको भन्दै उनले त्यसको नियन्त्रणको निम्ती लगाइने खोपको सहायता गर्न आग्रह गर्दै पत्र लेखेकी हुन् ।

लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ । यसअघि बेलायत सरकारले नेपालमा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

राष्ट्रपतिले खोप कूटनीति अन्तर्गत आइतबारै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पनि पत्राचार गरेकी छिन् । अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेकी छिन् ।

त्यसअघि उनले चिनिया राष्ट्रपति सि जिनफिङलाई पनि खोप सहायताको आग्रह गर्दै पौने एक घण्टा फोन सम्बाद गरेकि थिइन् । उनको आग्रह स्वीकार गर्दै राष्ट्रपति जिनफिङ तत्काल दश लाख डोप डोज सहयोग गरेका थिए भने नेपालले किन्ने खोपको लागि पनि सहयोग गर्ने वचन दिएका थिए ।