म्याग्दी- म्याग्दी जिल्लाको नारच्याङ गाविस-१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ ।
पहिरोमा परेर नारच्याङ-५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस वडा नम्बर ६ का हुकुम पुन र वडा नम्बर ४ का टरबहादुर फगामी सम्पर्कविहीन भएका छन् ।
गएराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्न समस्या भएको छ । उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा गन्तव्यमा पुग्न नसकेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
सम्पर्कविहीन पाँचै जना सोमबार दिउँसो निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जङ्गल गएका थिए । टेलिफोन सम्पर्क नहुने, खोँच र धुलोका कारण उनीहरुको खोजी तथा पहिरोको अध्ययनका लागि गएको स्थानीयवासी र सुरक्षाकर्मीको टोली समस्यामा परेको डिएसपी खड्काले बताउनुभयो ।






