काठमाडौं– नवगठित नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन युवा संघ, नेपाल र वाईसियल, नेपालले एक हप्ता भित्र एकीकरण प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेको छ ।
तत्कालीन एमालेको युवा संघ, नेपाल र तत्कालीन माओवादी केन्द्रको वाईसियल, नेपालको एकता कार्यदलको बिहिबार बसेको बैठकले दुई संगठनबीचको एकीकरण प्रक्रियालाई एक हप्ता भित्र टुंग्याउने गरी आन्तरिक छलफललाई तीव्रता दिने निर्णय गरेको हो ।
एक हप्ता भित्र दुवै संगठनको एकता प्रक्रियालाई टुंगाउने गरी कार्यदल स्तरमा छलफल भईरहेको वाईसियल नेपालका अध्यक्ष दिपशिखाले जानकारी दिए ।
कार्यदलको बैठकमा एकीकृत संगठनको नाम, विधान र सांगठानिक संरचनाको विषयमा छलफल सुरु गरिएको छ ।
अध्यक्षशिखाले संगठनको भावी दिशा भने मुलुकको समृद्धि र रोजगारीको अवसर सृजना गर्नका लागि सरकारलाई सक्दो सहयोग गर्ने दिशामा केन्द्रित हुने निष्कर्ष निकालिएको पनि बताए ।
दुवै संगठनको बुधबार बसेको उच्च स्तरीय बैठकले संगठनको विधान र सांगठनिक संरचना तय गर्ने जिम्मेवारी एकता कार्य दललाई दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा विहिबार वाईसियल नेपालको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको एकता कार्य दलले एकीकरणको समग्र विषयमा छलफल सुरु गरेको हो ।
एकीकृत संगठनको नाम सम्भवतः नयाँ रहनेमा आम सहमति हुने वाईसियल, नेपालको दावी छ । तर, युवा संघ, नेपालले भने युवाहरुको प्रतिनिधित्व गर्ने संगठन भएकाले यसको नाम युवा संघ, नेपालनै राख्न उपयुक्त हुने कतिपयको भनाई छ ।
दुवै संगठनले एकीकरणको प्रारुप तयार पारेपछि पार्टीले त्यसलाई अनुमोदन गर्नेछ ।






